भारतमा लोकसभाको निर्वाचन शुरु भारतमा लोकसभाको निर्वाचन शुरु



नयाँदिल्ली, २८ चैत: भारतमा लोकसभाका लागि पहिलो चरणको निर्वाचन बिहीबार शुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

भारतीय निर्वाचन आयोगका अनुसार, यस पटकका चुनावमा करिब ९० करोड मतदाताले मतदान गर्दैछन् । चुनाव सात चरणमा हुनेछ । जनमत सर्वेक्षणहरुले ६८ वर्षीय प्रधानमन्त्री मोदीप्रति धेरै मानिसले विश्वास देखाएका छन् ।

तर यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने सम्भावना पनि देखिएको छ । चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीहरुले स्थानीय विधायक सहित पाँच जनाको हत्या गरेका छन् । अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् ।

खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ । भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् ।

भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । आगामी मे १९ तारिखसम्म जारी रहने सात चरणको चुनावको अन्तिम नतिजा मे २३ मा सार्वजनिक हुनेछ । करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ ।

बिहीबारको पहिलो चरणको चुनावमा करिब १४ करोड २० लाखले मतदान गर्नेछन् । पहिलो चरणमा चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशदेखि असाम, उत्तर प्रदेश, जम्मु र काश्मिर तथा तेलाङ्गाना समेतका २२ राज्यका ९० स्थानका लागि चुनाव हुँदैछ । यस पटकको चुनावमा आठ करोड ४० लाख नयाँ मतदाता थपिएका छन् ।

प्रधानमन्त्री मोदीले बिहीबार बिहानै ट्वीट गरी मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ । मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा)ले सन् २०१४ को चुनावमा भारी मतका साथ विजयी भएको थियो । भारतमा ३० वर्ष यता पहिलोपटक सन् २०१४ मा एउटै पार्टी भाजपालाई बहुमत प्राप्त भएको थियो ।


User Avatar
RSS रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) (नेपाल सरकार,सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभाग दर्ता नं. ६०/०७३–०७)मा दर्ता भई सञ्चालित अनलाइन न्युज पोर्टल हो । जसमा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com