स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

सेयर गर्नुहोस

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली क्रिकेट टोलीले एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा विजय हासिल गरेकामा बधाई तथा शुभकामना दिनुभएको छ ।

उहाँले आज शुभकामना सन्देशमार्फत नेपाली क्रिकेट टोली एसिया कपमा छनोट भएकामा खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पदाधिकारीलाई बधाई दिनुभएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा आज सम्पन्न एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपाली टोलीले युनाइटेड अरब इमिरेट्सलाई हराएको हो ।

राष्ट्रपति पौडेलले खेलका क्रममा नेपाली खेलाडीले देखाउनुभएको दक्षता, धैर्य, लगनशीलता र अनुशासनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै उहाँहरूले नेपाल र नेपालीको नाम राख्नुहुने विश्वासका साथ आगामी प्रतियोगिताको लागि पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल एसिया कपमा छनोट

एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा कुल एक सय १८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

सङ्कटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुबै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने ।

बलिङतर्फ युएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।

यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको युएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -