स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

महिला कूटनीतिज्ञको माध्यमबाट चीनले काठमाडौंमा प्रदर्शन गरेको फरक कूटनीति

सेयर गर्नुहोस

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण सम्पन्न भएको छ। शुक्रबार नेपाल आएकी उनी सोमबार स्वदेश फर्किएकी छिन्।
नेपालमा रहँदा सुन निरन्तर सक्रिय भइन्। उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरी चीन-नेपाल सम्बन्ध तथा सहकार्यमा नयाँ अध्याय स्थापना गरेर नयाँ सेतु निर्माण गरेकी छिन्।

धेरैजसो महिला प्रतिनिधिमण्डलको नेतृत्व गर्दै, श्रीमती सुनले शीर्ष नेपाली नेता र अधिकारीहरूसँग छलफल गरिन्। छलफलका क्रममा चीनको “गुलाब कूटनीति” को आकर्षण प्रदर्शन गर्दै उनले विकास परियोजना र द्विपक्षीय सम्बन्धको महत्त्वलाई जोड दिएकी थिइन्।
सुन हाइयानको भ्रमणले नेपालसँगको कूटनीतिक सम्बन्धलाई चीनले दिएको उच्च महत्त्वलाई झल्काउँछ। प्रधानमन्त्री पुष्प कमल दाहल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र नेपाली राजनीतिक दलका विभिन्न प्रतिनिधिहरूसँगको संयुक्त परामर्श सत्रमा भएको छलफलले दुई देशबीचको बृहत्तर आपसी समझदारी र सहयोगका लागि नयाँ मञ्च तयार भएको विश्लेषकहरूले बताएका छन्।

सुनको शालीन र गम्भीर व्यवहार, कूटनीतिक शैली तथा स्त्रीगत सौन्दर्यले नेपालमा धेरैको ध्यान खिचेको पाइयो। सिङ्गापुरका लागि चिनियाँ राजदूतको रूपमा काम गरिसकेको प्रभावशाली पृष्ठभूमि भएकी उनले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान सक्षम एक जानकार र अनुभवी नेताको रूपमा प्रस्तुत गरिन्।
संयुक्त परामर्श सत्रमा सुनले केही बाह्य शक्तिहरूले चीन-नेपाल द्विपक्षीय सम्बन्धलाई बिगार्ने प्रयास गरिरहेको मात्र औल्याइनन् चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलसँग साझा फाइदा र सहकार्यको सन्दर्भ केन्द्रित छलफलमा निम्त्याइएका प्रमुख दलका नेताहरूलाई सामूहिक रूपमा सुनले दलीय सहकार्यको मोडालिटी पनि बताइन् ।
नेपाल अरुबाट प्रयोग हुनबाट बच्नुपर्ने संकेत गर्दै सुनले भनिन्, ‘अहिले विश्वमा शान्ति छैन, केही शक्तिहरू चीन र नेपालको राम्रो देख्न चाहिरहेका छैनन्, उनीहरूले दुर्भाव राखिरहेका छन् । हामीले एकता, विश्वास र पारस्परिक सम्बन्ध कायम राख्न सक्नुपर्छ र कठिनाइमा एकअर्काबीच मिलेर काम गर्नुपर्छ ।’ नेपालमा बढ्दो पश्चिमाहरूको सक्रियताप्रति सुनको खास चासो रहेको प्रस्ट मात्र थिएन, चिन्ताको अभिव्यक्ति पनि थियो ।

उपमन्त्री सुनले द्विपक्षीय सम्बन्धलाई बढावा दिन पर्यटनको मूल्यसहित धेरै महत्त्वपूर्ण विषयहरूको चर्चा गरिन्। उनले नेपालमा पूर्वाधार विकास हुन नसकेको भन्दै त्यसको सुधारमा पनि जोड दिइन्। उनले कोभिड-१९ महामारी र अन्य कारणले अवरुद्ध भएका परियोजनाहरूलाई गति दिन र नीतिगत सुधारका लागि आह्वान गर्दै थप चिनियाँ लगानी आकर्षित गर्न नेपाल सरकारलाई आग्रह गरिन्।
“हामीले जनताको जीविकोपार्जनको उत्थानका लागि धेरैभन्दा धेरै परियोजनाहरू कार्यान्वयन गर्ने योजना बनाइरहेका छौं, तर यहाँ नीतिगत सुधार आवश्यक छ ताकि परियोजनाहरूले जनताको लागि राम्रो परिणाम सुनिश्चित गर्न सकून्”, उनले भनिन्।
उपमन्त्री सुन हाइयानको भ्रमणले निकट सहयोग र साझा विकास उद्देश्यका साथ नेपाल-चीन सम्बन्धमा नयाँ युगको थालनी गरेको छ।

सेयर गर्नुहोस

योगदानकर्ता

+विन्दु गहतराज

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -