स्वागतम्,
Thursday 2nd May 2024   |   Switch to English
Times of Nepal

नवौँ लुम्बिनी खाना महोत्सव सुरु

Lumbini Province - TON
सेयर गर्नुहोस

नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता जनाउनुभयो ।

“अब लुम्बिनीभित्र मात्र होइन, बाहिर पनि आहा भन्ने बनाउनुपर्छ, त्यसका लागि सबैको सहकार्य जरुरी छ”, उहाँले भन्नुभयो । लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवश्यक रहेकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

“सरकार एक्लैले केही गर्न सक्दैन सबै स्थानीय मिलेर सरसफाइ अभियान चलाउनुपर्छ । फोहर यत्रतत्र नफालाँै”, उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध जन्मस्थलका नागरिक भएकाले आनिवानी बदल्न जरुरी छ ।”

उहाँले अब आर्थिक गतिविधि बढ्ने र होटल व्यवसायले गति लिने विश्वास व्यक्त गर्नुभयो । “कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर गरेको छ । अब व्यवसायीले अपनत्व लिने गरी सरकारले नयाँ निर्णय लिने छ”, उहाँले भन्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले अहिलेसम्म लुम्बिनी गुरुयोजना पूरा गर्नमा ध्यान केन्द्रित गरेको बताउँदै अब लुम्बिनी आसपासको विकासमा सहकार्य गर्ने बताउनुभयो । लुम्बिनीमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै उहाँले नजिकका पालिकासँग समन्वय गरेर निकास निकाल्न आवश्यक रहेको धारणा राख्नुभयो ।

लुम्बिनी प्रदेससभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनीको विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन खानले महोत्सवमा सबैलाई समेट्न आग्रह गर्नुभयो । नगरका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीको विकास र प्रवद्र्धनका सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

लुम्बिनी पर्यटन परिषद्का सदस्यसचिव रामु जोशीले लुम्बिनीको विकासमा प्रदेश सरकारले सहकार्य गर्दै आएको बताउनुभयो । पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनीका पर्यटन महाशाखा प्रमुख मुक्ति पाण्डेले ‘नयाँ वर्षमा लुम्बिनी जाऔँ’ सन्देशसहित आयोजना गरिएको सडक खाना महोत्सव ब्रान्ड बन्दै गएको बताउनुभयो ।

लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले आर्थिक मन्दिका कारण होटल व्यवसाय प्रभावित भएको समयमा व्यवसाय चलायमान बनाउन सडक खाना महोत्सव आयोजना गरिएको बताउनुभयो । लुम्बिनी होटल सङ्घका उपाध्यक्ष लीलामणि शर्माले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

नाटाका प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनीको आर्थिक समृद्धिका लागि सबैको सहकार्यमा अभियान चलाउनुपर्ने र निजी क्षेत्र त्यसका लागि तयार रहेको धारणा गर्नुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपाने, होटल व्यवसायी पिताम्बर न्यौपाने, व्यवसायी सञ्जय बजिमय लगायतले पर्यटन प्रवद्र्धनका लागि यस्ता महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सङ्घका महासचिव पुरुषोत्तम अर्यालले कोरोनाका कारण सुस्ताएको लुम्बिनीको व्यापार व्यवसायलाई उकास्न खाना महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित खाना महोत्सवमा विभिन्न जातजातिका परिकार राखिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -