स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

buddha
सेयर गर्नुहोस

बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ । यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहो¥याउने रणनीतिका साथ चुनावी मैदानमा खटिनुभएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बन्नुभएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक सङ्घीय संसद्को उम्मेदवार बनाएको हो ।

“यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आङ्कलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिस्पर्धा हुन्छ”, स्थानीय समाजसेवी विष्णु बस्याल भन्नुहुन्छ ।

कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गर्नुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गर्नुभएको थियो । त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित हुनुभएको थियो ।

यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहो¥याउने बिश्वासमा हुनुहुन्छ । “मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छुँ”, शाह भन्नुहुन्छ ।

तीनपटक सङ्घीय संसद्मा निर्वाचित भइसकेका शाहलाई मुलुकमै सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरेले कडा चुनौती दिनुभएको छ । उम्मेदवार घिमिरेले विगतको अनुभवका आधारमा बुद्धभूमिसँग जोडेर समग्र क्षेत्र नं ५ लाई नमूना बनाउने योजना सुनाउँदै मतदातासँग मत मागिरहनुभएको छ । “रुपन्देहीका अन्य क्षेत्रको तुलनामा यो ठाउँ पछाडि छ । यहाँको विकास र समृद्धिका लागि लुम्बिनीसँग जोडर केही योजना बनाएको छु, ती योजनाको कार्यान्वयनका लागि यो क्षेत्रमा नेतृत्व परिवर्तन आवश्यक छ”, घिमिरे भन्नुहुन्छ ।

प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट ५ (१) मा भूमिश्वर ढकाल र ५(२) मा रामचन्द्र यादव तथा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा विनोद पहाडी र २ मा फखरुद्दिन खान चुनावी मैदानमा उत्रिनुभएको छ । एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो । पडाडी संविधानसभाका सदस्य भइसक्नुभएको छ भने खान यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुुनुभएको थियो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भीष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका–५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिका–१ पर्दछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -