स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

यस्ता छन कोरोना रोकथाममा गण्डकी प्रदेशका योजनाबद्ध कार्यक्रम

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

विश्वव्यापी फैलिएको कोराना भाइरस सङ्क्रमणको रोकथामका लागि सिङ्गो विश्व लागिरहेका बेला दुई ठूला मित्रराष्ट्र चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि योजनाबद्ध रुपमा लागेको देखिएको छ ।

कोरोनाको प्रभावबाट प्रदेशलाई मुक्तगर्ने उद्देश्यका साथ प्रदेश सरकारसहित स्थानीय तह र यहाँका हरेक सरकारी संरचना कोरोना भित्रिन नदिने उद्देश्यका साथ आ–आफ्नो तयारीका साथ तीव्र रुपमा लागेका छन् । प्रदेश सरकारका यतिबेलाका सबै कार्यक्रम कोरोनाको सम्भाव्य सङ्क्रमणका विरुद्धमा केन्द्रित रहेका छन् । 

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको संयोजकत्वमा गठित कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन उच्चस्तरीय निर्देशन समिति यतिखेर प्रदेशमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि क्रियाशील छ । गण्डकी प्रदेश सरकारका मन्त्रिपरिषद् बैठकहरुका साथै यसै सन्दर्भमा प्रदेश, जिल्ला एवं स्थानीय तहमा गठित अन्य विभिन्न समितिहरु पनि आफ्ना सम्पूर्ण कार्यक्रमहरु कोरोना नियन्त्रण तथा निदानका क्षेत्रमा केन्द्रित छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोष स्थापना गरी आफ्ना नियन्त्रण एवं रोकथामका गतिविधिलाई अघि बढाएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

“राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरिएको कोषमा मुख्यमन्त्री सहित सातै जना मन्त्रीले एक÷एक महिनाको तलब दिने निर्णय गरिएको छ,” उहाँले भन्नुभयो, “कोषमा सहयोग गरी प्रदेश सरकारको अभियानमा हातेमालो गर्न जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, सङ्घसंस्थासँग पनि आग्रह गरेका छौँ ।”

कोष स्थापनासँगै विभिन्न सङ्घ संस्थाबाट सहयोग गर्ने क्रम पनि सुरु भएको छ । सरकारले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुनमगर र प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समिति गठन गरेको छ ।

उहाँकाअनुसार सरकारले सबै जिल्ला अस्पताललाई कोरोना रोकथामका लागि मात्र भनेर सुरुमा प्रति अस्पताल पाँच लाख रुपैयाँ पठाएकोमा पुनः थप पाँच लाख रुपैयाँका दरले पठाउने निर्णय गरिसकेको छ ।

सरकारको सक्रियतासँगै पर्यटकीय राजधानी पोखरासहित समग्र गण्डकी प्रदेशमा कोरोना भाइरस सर्ने जोखिमलाई मध्यनजरगर्दै विभिन्न अस्पताल तथा सरकारी निकाय पूर्व तयारीका लागि जुटिसकेका छन् ।

प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिमलाई नियन्त्रण गर्न र पूर्वतयारीका लागि विभिन्न अस्पताल, सरकारी निकाय, सरोकारवाला निकायबीच तालीम र छलफल भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गण्डकी प्रदेशभित्र सङ्क्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी सबै किसिमका तयारी गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएमा घरमै बसेर चिकित्सकीय परामर्श लिन सक्ने गरी प्रदेशमा सञ्चालित हटलाइन सेवा पनि प्रभावकारी बन्दै गएको उहाँले जानकारी दिनुभयो ।

उक्त हटलाइन सेवामा फोन गरी डक्टरको परामर्श लिए पछि मात्र तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने यकिन हुने भएकोले सर्वसाधारणले हटलाइन सेवाको अधिकतम उपयोग गर्न थालेका छन् ।

कोरोना सङ्क्रमणको जोखिमीबाट जोगिन प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोन मार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्न सञ्चालित ‘हेलो डक्टर’ कक्षमा फोन गर्ने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार हटलाइन सेवामा हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षण लगायतका विषयमा पनि सोधपुछ गर्ने गरेका छन् ।

कोरोना सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० शैयाको आइसोलेसन कक्ष तयार गरिएको छ । त्यस्तै मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० शैयाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिनुभयो ।

त्यस्तै स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार शैयाको आइसोलेन कक्ष तयार गरिएको छ ।

प्रदेश अन्तर्गतका सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन आवश्यक सम्पूर्ण तयारी भइरहेको जनाइएको छ । निर्देशनालयले प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्ष राखी त्यसमार्फत पनि सेवा प्रवाह गरिरहेको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेश नम्बर ५ सँग जोडिने स्याङ्जा र पाल्पा सीमा राम्दी, वागमती प्रदेशसँग जोडिने आवुखैरेनी, पूर्वी रुकुमसँग जोडिएको निसी र धादिङसँग जोडिएको आरुघाट नाका अघिल्लो मङ्गलबारदेखि नै बन्द गर्ने निर्णय गरेको थियो ।

प्रदेश अन्तर्गत भारतसँग सिमाना जोडिएको नवलपुर जिल्लास्थित त्रिवेणी नाकाबाट आवागमन पूर्ण रुपमा रोकिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा सबै गाउँपालिकासँग समन्वय गरी पालिकास्तरमा क्वारेन्टाइन स्थापना गर्न लगाइएको जानकारी दिदै उहाँले जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड स्थापना गराइएको बताउनुभयो ।

“हालै भारत लगायत विदेशबाट आएका व्यक्तिका सम्बन्धमा सम्बन्धित पालिका एवम् स्थानीय तहका जनप्रतिनिधिको सहयोगमा पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो । नवलपुरको रजहरस्थित प्राकृतिक चिकित्सालयमा क्वारेन्टाइन एवम् आइसोलेसन कक्षका लागि तय गरिएको उहाँले जानकारी दिनुभयो ।

सर्वसाधारण स्वास्थ्यप्रति सचेत बनेको बताउँदै उहाँले नवलपुरमा लकडाउनको राम्रैसँग पालना भइरहेको जानकारी दिनुभयो । नवलपुरमा कोरोना सङ्क्रमण विरुद्धको तयारीका सन्दर्भमा प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहितको कमाण्ड पोष्ट सञ्चालनमा आएको छ ।

कमाण्ड पोष्टमार्फत कोरोना भित्रिन नदिनका लागि जिल्लाभित्र भइरहेका सम्पूर्ण गतिविधिको नियमित रुपमा निगरानी, तयारी एवं समिक्षा हुने गरेको उहाँले बताउनुभयो ।

चीनसँगको सिमाना जोडिएको हिमाल पारीको जिल्ला मुस्ताङमा पनि कोरोना विरुद्धको सम्पूर्ण तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

नेपाल चीनबीचको कोरला नाका हिउँदको समयमा बन्द नै हुने भएका कारण हाल उक्त नाकाबाट आवतजावत नभएको उहाँले बताउनुभयो । जिल्लास्थित जोमसोममा रहेको जिल्ला अस्पताल र लेतेस्थित अस्पतालमा छ वटा आइसोलेसन बेड तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

गौतमका अनुसार जिल्लाको घरपझोङ गाउँपालिकास्थित जनहित उच्च मा.वि.मा २० बेडको क्वारेन्टाइन बनाइएको छ । त्यस्तै लोमन्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष ङवाङ कुङ्गा लामाले लोमन्थाङस्थित आफ्नै विद्यालयमा १० बेडको क्वारेन्टाइन स्थापना गर्नुभएको छ ।

शहरी क्षेत्रमा मात्र नभई प्रदेश अन्तर्गतका स्थानीय तहले पालिकास्तरमा आफ्नो तयारी बढाएका छन् । कास्कीको रुपा गाउँपालिका– ५ स्थित देउरालीमा २०० बेड क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो ।

“कोरोना सङ्क्रमण गाउँगाउँसम्म नभित्रियोस् भन्नका लागि पनि सरकारको ध्यान पुग्नु जरुरी छ,” उहाँले भन्नुभयो, “केन्द्र, प्रदेश, जिल्ला हुँदै प्रत्येक गाउँपालिका एवं स्थानीय तहसम्म समदृष्टिका साथ सबैको साथ र सहयोगमा यसको रोकथाम तथा नियन्त्रण गर्न सके हामीले कोरोना बिरुद्धको लडार्इँ सजिलै जित्न सक्छौँ ।”

गाउँपालिका भित्रका स्वास्थ्य चौकी तथा संस्थामा कोरोनाको उपचारमा सहयोग पु¥याउन सुरक्षा सामग्री लगायतको व्यवस्थापनका लागि पालिकास्तरबाट पनि आवश्यक तयारी भइरहेको कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

प्रदेशमा कोरोना सङ्क्रमण विरुद्धको लकडाउनका समयमा हुनसक्ने खाद्यान्न आपूर्तिको समस्या समाधानका लागि उद्योग पर्यटन बन तथा वातारणमन्त्री विकास लम्सालको संयोजकत्वमा प्रदेश स्तरीय समिति गठन गरिएको छ ।

प्रदेशमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरीवेक्षण गर्न गठित उक्त समितिका सदस्य एवम् जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीकाअनुसार समितिले आगामी पाँच दिनभित्र स्थानीय, जिल्ला एवं प्रदेशस्तरबाट अत्यावश्यक वस्तुको माग सङ्कलन गर्न लागेको छ ।

सङ्कलित मागअनुसार प्रदेशअन्तर्गतका जिल्ला र स्थानीय तहमा आवश्यक वस्तु उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -