स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा

सेयर गर्नुहोस

आज साउन ९ गते, नेपाली कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व नरबहादुर कर्माचार्यको स्मृति दिवस । कर्माचार्यलाई नेपालका कम्युनिष्टले मात्र नभई आमजनताले एक अभिभावकको रुपमा उच्च सम्मान गर्दछन् । पुष्पलाल, मोहनविक्रम र निर्मल लामा जो नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक राजनीतिक गुरुको रुपमा परिचित छन्, एकपटक नेपाली कांग्रेसका कार्यकर्ता रहिसकेका छन् तर कर्माचार्यको राजनीतिक जीवन नेकाभन्दा फरक र जेठो सङ्गठनबाट सुरु भएको छ । उहाँ बामधारामा रहँदै कम्युनिष्ट पार्टीमा संस्थापक नेताको हैसियत प्राप्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००९ सालको लेनिन जयन्तीको दिन भयो । पुष्पलालको नेतृत्वमा पार्टी गठनको घोषणा गर्न जुटेका चारजनामध्ये नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी संलग्न हुनुहुन्थ्यो । पछि सेप्टेम्बर १५ मा घोषणापत्र सार्वजनिक गर्दा मोतीदेवी पनि सँगै हुनुहुन्थ्यो । मोतीदेवीलाई संस्थापकको सूचीमा राख्न स्थापना दिवस सेप्टेम्वरलाई मान्ने गरियो । संस्थापक टिममा रहेर पनि प्राविधिक कारणले संस्थापक बन्न नपाएका देवेन्द्रलाल श्रेष्ठ पनि हो । पाटनका तीन लालमध्येका एक लालका देवेन्द्रलाल नरबहादुर कर्माचार्यसँगै आजीवन क्रियाशील राजनीतिक जीवन बिताउनुभयो ।

मनमोहनलगायतको एउटा समूह नेकपामा सामेल भएदेखि क्रमशः संस्थापक किनारा लाग्ने स्थिति बन्यो र देवेन्द्रलाल पनि पछि पर्न थाल्नुभयो तर बडाहाकिम पद छोडेर कम्युनिष्टसँगै रहनुभयो निर्मल लामाको नाम जोडिँदा छुटाउनै नहुने एउटा नाम दिलबहादुर श्रेष्ठ पनि हो जो उपत्यकाको किसान आन्दोलनको अग्रणीमा पर्नुहुन्छ । सिद्धिलाल तुलसीलालसँग जोडिएर रहँदाअर्थात् तेस्रो महाधिवेशनको नेतृत्व अकर्मण्य रहँदा पनि भ्यालीको आन्दोलनमा आफ्ना स्पष्ट विचारसहित पूरै क्रियाशील रहँदै कामरेड नरबहादुर कर्माचार्य चौथो महाधिवेशनको पक्षमा उभिनु भयो । त्यति बेला कामरेड निरञ्जन गोविन्द वैद्य स्वध्याय, लेखन र प्रकाशनसँगै प्रगतिशील पुस्तक बेचेर सन्तुष्ट रहनुभयो । तर कर्माचार्य सक्रिय राजनीतिमा लागिरहनुभयो । एकता केन्द्र गठन हुँदा केन्द्रीय सल्लाहकार समितिको प्रमुख पदमा रहेका नरवहादुर कर्माचार्य दोस्रो पटक केन्द्रीय भूमिकामा देखिनुभयो । एकता केन्द्रको विभाजनपछि अन्तरिम पार्टी प्रमुखको भूमिकामा पुग्नुभएका कर्माचार्यले हासिल गरेको यो नै उहाँको जीवनको सर्वोच्च राजनीतिक पद थियो । तर पदमा रहनु र नरहनुले बहाँको राजनीतिक भूमिकामा कुनै फरक परेन उहाँ सधँै सक्रिय राजनीतिक भूमिकामा रहिरहनुभयो ।

उहाँ अत्यन्त सहयोगी स्वभावको ब्यक्ति हुनुहुन्थ्यो । म इसासको स्थापना भेलामा भाग लिन सायद जीवनको पहिलो पटक काठमाडौँ आउँदा मेरो सम्पर्क ब्यक्ति र आश्रयदाता र कार्यक्रमस्थलसम्म पु¥याउन उहाँले नै भूमिका खेल्नुभएको थियो । मेरो उहाँसँगको पहिलो भेट र परिचय त्यही नै थियो । संयोगले २०५४ देखि ५९ सम्म एउटै कमिटीमा रहने अवसर जु¥यो । संस्थापकसँग एउटै कमिटीमा रहनु मेरो जीवनको सार्थक समय हो भन्ने लाग्छ । एकताकेन्द्र बनेपछि पार्टीको नेतृत्वको हैसियतले भूमिगत केन्द्रीय कार्यालय स्थापना गर्न रहन बस्न र गोपनीयता कायम रहन कर्माचार्यको महत्वपूर्ण अभिभावकीय भूमिका रहेको छ । बिना भेदभाव पार्टी साथी र नेतृत्वलाई सहयोग गरने उहाँको कार्यशैली अनुकरणिय छ । साथै देखिएका कमीकमजोरीमा खुलस्त आलोचना गर्न सक्ने हैसियत पनि अनुकरणीय छ भन्ने लागेको छ ।

संस्थापक समितिको कार्य विभाजनमा मजदुरको जिम्मेवारी पाउनुभएका कर्माचार्य केही समय विराटनगरमा रहेर पार्टी काम अगाडि बढाउनुभयो भने निरञ्जन गोविन्द वैद्य भने वीरगञ्जलाई कर्मथलो बनाउँदै बारा पर्साका किसानलाई सङ्गठित गर्न लाग्नुभयो । कामको सिलसिलामा भारतीय कम्युनिष्ट पार्टीका सदस्य बनिसकेका मनमोहन पनि नेपालमा चलेको राणा विरोधी आन्दोलनमा सामेल हुन विराटनगर (गृह जिल्ला) मा आएर मजदुरबीचमा काम गरिरहनुभएको थियो ।

विराटनगरका कारखाना मजदुरको २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका छ र त्यही समयमा छोटो अवधिमै नेकपाको विस्तार जुन ढङ्गले भयो कर्माचार्यलाई यसले स्थापित गरेको छ । आज ट्रेड युनियनको इतिहासबारे चर्चा गर्नेले यसलाई छुटाउनु हुँदैन भन्ने लाग्छ ।

त्यस्तै वीरगञ्ज क्षेत्रको मजदुर आन्दोलनमा स्थापनाकालीन भूमिकामा पनि उहाँलाई पाउन सकिन्छ । साथै, निरञ्जन गोविन्द वैद्यसँगको सहकार्यमा त्यस क्षेत्रमा कम्युनिष्ट पार्टी र आन्दोलनको उठानमा पनि उहाँको उल्लेख्य भूमिका छ । नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको सशस्त्र क्रान्तिको समयमा पार्टी नीतिअनुसार भाग लिने नीति तथा भूमिगत पार्टी भूमिकाबीच तालमेल गर्दा बाह्यरुपमा कांग्रेसमय देखिएको भए पनि त्यतिबेला कम्युनिष्ट पार्टीको विस्तार अत्यधिक नै रह्यो र किसान सङ्घ मजदुर सङ्गठनमा बलियो कम्युनिष्ट प्रभाव रहेको पाइन्छ । यसको श्रेय संस्थापकको हैसियतले कार्यक्षेत्रमा खटेर काम गरेबापत कर्माचार्य र निरञ्जन गोविन्द वैद्यलाई जान्छ । राजनीतिकरुपमा २००७ को क्रान्ति दिल्ली सम्झौता र सन १९५० को असमान सन्धिको विरोध पार्टीको घोषित नीति रहनु र यसको विरुद्ध सशक्त आन्दोलन हुनुले स्वभाविक सीमा र कमजोरीका बाबजुद संस्थापक नेतृत्व टिम त्यसैले उहाँमा आवश्यक राजनीतिक स्पष्टता रहेको पाइन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको स्थापनाकालमा अन्तर्राष्ट्रिय जगत्मा अतन्त प्रभाव र तरङ्ग पैदा गर्ने दुईवटा घटनालाई याद गर्नुपर्ने हुन्छ । सोभियत सङ्घको अगुवाइमा फासिष्ट तथा नाजीवाद विरुद्ध निर्णायक युद्धमा बिजय प्राप्त भयो । सर्वाधिक शक्तिशाली जर्मन साम्राज्यवादले स्तलिनको नेतृत्वको सोभियत सङ्घसँंग घुँडा टेक्यो । यसले दुनियाँभरमा राष्ट्रिय मुक्ति सङ्घर्षको बिगुल बज्न थाल्यो । सर्वशक्तिमान बृटिश साम्राज्यवादले हिन्द प्रशान्त क्षेत्रबाट हात धोयो । छिमेकी भारत स्वतन्त्र भयो । त्यतिबेला भारतको कम्युनिस्ट आन्दोलन सशक्त ढङ्गले स्थापित भइरहेको थियो । साथै, जापानी साम्राज्यवाद दोस्रो विश्वयुद्धको पराजयसँगै चीनबाट पनि पराजित भएर बाहिरियो । जापान विरोधी युद्धको क्रममा कामरेड माओको नेतृत्वमा सैनिक तथा राजनीतिक रुपमा अनुभव स्पष्टता र शक्ति आर्जन गरेको चिनियाँ कम्युनिष्ट पार्टीले गृहयुद्धमा पनि बरद कायम ग¥यो ।

अमेरिकी साम्राज्यवादको गोटी बनिसकेको च्याङ काइ सेक नेतृत्वको प्रतिक्रियावादी मोर्चा हार र प्रशान्त क्षेत्रबाट अमेरिकी वर्चश्वसमेत गुम्ने गरी अमेरिकी पराजयसँगै चिनियाँ कम्युनिष्ट पार्टी र माओको प्रभाव विश्वव्यापी रुपमा बढिरहेको थियो । नेपाल यी दुवै घटनाबाट प्रभावित हुँदै कम्युनिष्ट आन्दोलनको दिशामा बेगवान ढङ्गले विस्तार र विकसित भइरहेको थियो । नयाँ जनवादी क्रान्तिको नीति तय हुनुमा यिनै कारणले बढी भूमिका खेलेको र सशक्त किसान आन्यदोलनको विस्तार पनि भइरहेको थियो ।

यही समयमा नेपाली कम्युनिष्ट आन्दोलनमा प्रभाव पार्ने तीनवटा घटना देखापरे । पहिलो, कम्युनिष्ट पार्टीमाथि प्रतिवन्धको घोषणा गरियो, दोस्रो, डा के आइ सिंहको विद्रोह र तेस्रो भीमदत्त पन्तको नेतृत्वको किसान बिद्रोह दमन गर्न भारतीय सेनाको प्रवेश । यही पृष्ठभूमिमा कामरेड मनमोहनलगायतका नेताहरुको कम्युनिष्ट पार्टीमा प्रवेश भयो । त्यसपछिको पार्टी केन्द्रको शक्ति सन्तुलन र परिस्थितिको प्रतिकुलताको मूल्याङ्कनसहित भीमदत्त पन्तको नेतृत्वमा उठेको किसान आन्दोलनको जिम्मेवारी लिन पार्टीले इन्कार ग¥यो । उपत्यका तथा बारा पर्सा रौतहटको किसान आन्दोलनबाट हात झिक्यो र प्रतिबन्ध फुकुवाको लागि दरबारमा लिखित बिन्तीपत्र हाल्यो ।

यही क्रममा पार्टीको नेतृत्वको परिवर्तन गरिएको थियोे तथा उपरोक्त सबै काम मनमोहनको नेतृत्वमा भएका थिए । तर रेङ्क एण्ड फाइल यसमा सन्तुष्ट थिएन र कर्माचार्य रेङ्क एण्ड फाइलसँगै उभिनुभयो । क पुषपलालबाहेक सबै संस्थापक केन्द्रीय समितिमा पर्नुभएन । उहाँहरु मतभेदसहित पार्टीमा सकृय रहनुभयो । मनमोहन चीनमा उपचारको लागि जानुभयो र पार्टी नेतृत्व रायमाझीको हातमा आयो । त्यतिबेला भ्यालीमा निर्मल लामा र पश्चिममा मोहनविक्रम उदीयमान युवा नेतृत्वको रुपमा पार्टीको केन्द्रीय राजनीतिमा देखा परिरहेका थिए । कामरेड नरवहादुर निर्मल लामाको संरक्षकदेखि सहयोगीको भूमिकामा अन्तिमसम्म देखिनुभयो । चौथो महाधिवेशनको फुट र एकता केन्द्रको विभाजनमा उहाँ निर्मल लामासँगै रहनुभयो ।

कामरेड कर्माचार्य नीतिगत विमतिका बाबजुद पार्टीको औपचारिक नीति निर्णय र नेतृत्वको पक्षमा रहनुभयो । निर्मल लामाको अगुवाइमा चौथो महाधिवेशन २०३६ को जनआन्दोलनमा अग्रणी भूमिकामा देखा प¥यो र नेपालको सर्वाधिक लोकप्रिय र अग्रणी भूमिकासहित सङ्गठनात्मक विकास र विस्तार भयोे । यही समयमा पार्टीभित्र निर्मल लामालाई नेतृत्वबाट हटाउने काम हुन थाल्यो । नरबहादुर लामाको पक्षमा उभिनुभयो तर भक्तबहादुर श्रेष्ठ महामन्त्री भइसकेपछि बिना आग्रह नेतृत्वलाई सहयोग गर्नुभयो । त्यस्तै २०४६ को आन्दोलनपश्चात् पार्टी एकताको लागि पहलकदमी लिनुभयो र उहाँ मोहनविक्रमसहितको एकताको पक्षमा उभिनुभयो । एकता केन्द्र बनिसकेपछि उहाँले प्रचण्डलाई पार्टी नेतृत्वको रुपमा खुलेर सहयोग गर्नुभयो । वैचारिक मतभेद त थिए तर पार्टी विभाजन पूर्व नेतृत्वको सम्मान रक्षा र सहयोगमा कुनै कमी देखिएन । विभाजनपश्चात् पुर्नगठनको दायित्व निर्वाह गरेका कर्माचार्य अन्तिमसम्म एकताको पक्षमा उभिनुभयो । राष्ट्रिय भेलापश्चात् नारायणकाजीलाई सहज ढङ्गले नेतृत्व स्वीकार्नु भयोे । यसरी एउटा अनुशासित अविश्रान्त सदाबहार कम्युनिष्ट जीवन अन्तिमसम्म बिताउनुभयो ।

उहाँले कहिल्यै राजनीतिमा छलछाम गर्नुभएन र रुचाउनुभएन । नेतृत्वप्रतिको उहाँको असन्तुष्टि धेरैजसो यसै सवालमा रहनेगथ्र्याे । तर कतै कुनै प्रसङ्गमा छरपष्ट पोखिएको पाइएन । उहाँसँग महत्वाकांक्षा थिएन र यसलाई अरुमा पनि रुचाउनुभएन । यसलाई पुष्टि गर्ने धेरै घटनाहरु यादमा छन् । निरञ्जन गोविन्द वैद्यको पार्टी सदस्यता पुनर्जीवित गराउने काममा उहाँको महत्वपूर्ण भूमिका रह्यो । यसले पनि देखाउँछ कि उहाँ सबै कम्युनिष्ट एक ठाउँमा रहेको देख्न चाहनु हुन्थ्यो । हाल उहाँको नाममा प्रतिष्ठान गठन भएको छ । यस प्रतिष्ठानले उहाँको इतिहास र विचार पक्षको कुशल बाहक बनेर रहने विश्वास गरिएको छ । (लेखक अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का नेता नेता हुनुहुन्छ ।–लेखराज रेग्मी

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -