स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

भैँसीपालन व्यवसायमा युवाको आकर्षण

सेयर गर्नुहोस

९ पुस : पछिल्लो समय युवा पिँढीमा विदेशिने लहड बढ्दो अवस्थामा छ । रोजगारका निम्ति विदेशिन र अन्ततः समस्याको भारी लिएर फर्किने युवाको पनि कमी छैन ।

कमाउनका लागि ठूलो आश बोकेर विदेश जाने कतिपय नेपाली युवाको शव आएका घटना पनि नौलो होइन । मूलतः रोजगारीकै लागि खाडी मुलुकमा जाने नेपाली युवाले ठूलो दुःख भोग्नु परिरहेको छ ।

सपना र श्रम बेचेर रित्तो हातमा फर्कनुपर्ने विवशताले युवा निरुत्साहित बन्दै गएका छन् । स्वदेशमा रहने युवा पनि लागुऔषध दुव्यर्सनी सिकार बनिरहेका छन् । स्थल तथा हवाइमार्गबाट लागुऔषध ओसारपसार भइरहेको छ । मदिरा तथा लागुऔषधले युवा समाज तहसनहस हुँदै गएको छ । गाउँ शहरमा अधिकांश युवा आपराधिक कर्ममा लागेको पाइन्छ ।

यद्यपि यो जटिल परिवेशमा भने कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका– १० का दुई युवाले रोजगारीकै लागि विदेश जानुपर्छ भन्ने सोच बदल्ने उत्पे्ररणा जगाएका छन् ।

वीरेन्द्रनगर नगरपालिका– १० सुवर्ण शाही र उत्तम उपाध्यायले रु एक करोडको लगानीमा विएसयु कृषि फार्म स्थापनागरी यही असारदेखि सञ्चालनमा ल्याएका छन् । फार्ममा २० दुहुँना भैँसी, २० पाडापाडी र एक राँगा छ । उक्त फार्मबाट दैनिक २०० लिटर दूध बजारमा निर्यात गर्छ ।

बजारमा प्रतिलिटर रु ७० दूध बेच्दा दैनिक रु १४ हजार आम्दानी हुने गरेको फार्म सञ्चालक शाहीले बताउनुभयो । “हामीले चार बिगाहा क्षेत्रफलको जमीन भाडामा लिएका छौँ”, सञ्चालक शाहीले, “अब अझै १० भैँसी थप्छौँ । कणकनाथ जातका कुखुरा र टर्कीपालन गर्ने तयारीमा पनि छौँ ।”

भर्खरै शुरु गरेकाले धेरै आम्दानी नभए पनि भविश्यमा यस फार्मलाई कर्णालीकै नमूना बनाउने उहाँले दाबी गर्नुभयो । त्यस्तै अर्का सञ्चालक उत्तम उपाध्यायले फार्मले कन्य च्याउ, तरकारी उत्पादनलाई समेत जोड दिएको बताउनुभयो ।

एघार जनालाई फार्ममा रोजगारी दिएको बताउँदै उहाँले भावी दिनमा बँदेल, हाँस, बङ्गुरलगायत पशु तथा पक्षीपालन व्यवसायलाई पनि अगाडि बढाउनेगरी कार्ययोजना बनाइरहेको जनाउनुभयो । शुरुमा बजार पाउन गाह्रो भए पनि अहिले बजारको मागअनुसार दूध आपूर्ति गर्न धौधौ भएको उहाँको भनाइ छ ।

नेपियर, जै र वर्षिम जातको घाँस भैँसीका लागि उत्पादन गरेको भन्दै सञ्चालक उपाध्यायले सरकारलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नु अनुरोध गर्नुभयो । उक्त कृषि फार्मको आजै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले अवलोकन गर्नुभएको छ ।

युवाले नमूना कार्य गरेको भन्दै उहाँले परिश्रमी युवाको व्यवसाय प्रवद्र्धनका लागि अनुदान उपलब्ध गराउन पहल गरिने बताउनुभयो । “हामी नमूना युवा व्यवसायीलाई खोजिरहेका छौँ”, मन्त्री केसीले भन्नुभयो, “हामीले बुझेका छौँ । किसानको आफ्नो लगानीले मात्रै सञ्चालन गर्न गाह्रो छ ।” सरकारले ऊर्जाशील युवाका लागि लगानी गर्ने उहाँको भनाइ थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -