स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

निर्माणका अधिष्ठाता देवता विश्वकर्मा पूजा

Vishwakarma Puja - the times of nepal
सेयर गर्नुहोस

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरिएको छ । प्रत्येक वर्ष असोज १ गतेलाई विश्वकर्मा दिवसका रुपमा विभिन्न उद्योग एवं प्रतिष्ठानमा मनाउने गरिन्छ । वास्तुशास्त्री, इञ्जिनीयर, कालिगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको हो । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा नेपालका कालिगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरेका छन् ।

वास्तु दिवस

आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । यस उपलक्ष्यमा आज वास्तुसम्बन्धी काम गर्ने संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । तन्त्रशास्त्र, धर्मशास्त्र आदि ग्रन्थमा वास्तुका बारेमा उल्लेख गरिएको छ ।

विश्वकर्माले रचना गर्नुभएको विश्वकर्मा प्रकाशलाई घर, भवनलगायत संरचना निर्माणको आधिकारिक ज्ञान दिने प्राचीन ग्रन्थ मानिन्छ । गन्थमा उल्लेख भएअनुसारका संरचना निर्माण गर्दा सुख, शान्ति मिल्ने गरेको वास्तु शास्त्री शिवप्रसाद पोखरेलले बताउनुभयो । जसका अनुसार मण्डप वास्तुमा ६१ र गृहवास्तुमा ८१ देवताको पूजा गर्ने विधि छ । यसको शुरुआत् विश्वकर्माले नै गर्नुभएको शास्त्रीय मान्यता छ । वास्तु शास्त्रको रचना सूर्यबाट आउने प्रकाशलाई आधार मानेर गरिएकाले वैज्ञानिक हो भन्ने वास्तुविद्को तर्क छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -