स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

मकरस्नान गर्न कालीगण्डकी किनार रुरुक्षेत्रमा भक्तको घुइँचो

सेयर गर्नुहोस

पर्वत १ माघ : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनिघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भीड लागेको हो । मोदीवेणीमा बिहानदेखि भजनकीर्तन पनि सुरु भएको छ ।

बिहान कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहान कालीगण्डकीमा पुगेका छन्भने टाढाटाढाबाट आउनुपर्नेहरु भने आइतबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोबास गरी बिहान स्नान गर्न पुगेका हुन् ।

माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ ।

यसैबीच, पर्वत, स्याङ्जा र गुल्मीका सङ्गमस्थलमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्लाको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित स्टिमरमार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गर्दछ । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।

रुरुक्षेत्रमा भक्तको भीड

यसैगरी, मकर सङ्क्रान्तिका अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो बढेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा अवस्थित कालीगण्डकी नदीमा स्नान गरी त्यस नजिकै रहेको भगवान् हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।

आजका दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाममध्येको एक धामका रुपमा प्रसिद्ध धार्मिकस्थलका रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

त्यस अवसरमा स्थानीय रुरु फ्रेन्ड्स क्लब र फ्रेन्ड्स क्लबको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाइलो मेला सञ्चालन गरिएको छ । कालीगण्डकी नदीमा सञ्चालन हुन लागेको रिडी मेलामा हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायत वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजन आउने भएका कारण रिडी मेलामा व्यापार गर्नका लागि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत स्याङ्जा, प्यूठान, बाग्लुङ्, रुकुम, रोल्पा, पर्वतलगायत ठाउँबाट समेत व्यापारी रिडी आउने गर्दछन् ।

मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीलगायत कृषि उपजका वस्तु राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले राससलाई जानकारी दिनुभएको छ ।

मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जनभन्दा बढी सङ्घसंस्थाको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिनुभएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -