स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

सबैको साझा बन्दै नेवार समुदायको रोपाइँजात्रा

सेयर गर्नुहोस

३२ साउन :अटिनअटी मान्छेको भीड । गुञ्जिरहेको थियो असारे गीत र ढोल÷झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार ।

हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो ।

बीचबीचमा लाखे तथा लाठी (ठाकठुके) नाच, प्रहसन र साँगीतिक कार्यक्रमले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । पहिलोपटक महिला कलाकारले प्रस्तुत गरेको प्रहसनले अधिकांश दर्शकको भुँडी बटारिएको थियो हसाइँले । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर शनिबार खोटाङको दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गरिएको कार्यक्रमको दृश्य हो यो । दिक्तेलबजार सामाजिक गुठीमा आबद्ध नेवार समुदायले कार्यक्रमको आयोजना गरेको थियो ।

यसअघिसम्म नेवार समुदायका युवायुवती मात्र सहभागी हुने रोपाइँजात्रामा यस वर्ष गैरनेवार समुदायका युवायुवती पनि स्वतःस्फुर्त रूपमा उल्लासका साथ कार्यक्रममा सहभागी भएका थिए । गैरनेवार युवायुवतीसमेत नेवारी परम्परागत पहिरन हाकुपाटसी तथा दौरासुरुवालमा सजिएका थिए ।

गत साउन १४ गतेबाट शुरु भएको लाखेजात्राको अवसरमा गत शनिबार पाहुना टोली ओखलढुङ्गाका नेवार समुदायको प्रस्तुतिले झनै रौनकता छाएको थियो । महीना दिनसम्म मनाइने लाखेजात्राको अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताउनुभयो ।

गठेमङ्गलको दिनबाट विधिवत रुपमा शुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गर्ने चलन छ । यसबीचमा गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृति प्रस्तुति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

दिक्तेलबजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने मुखुण्डोधारी लाखेनाच मानिएको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति तथा परम्पराको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्छन् ।

लाखे बन्ने व्यक्तिले केही दिनअघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने गरेका छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ । लाखेजात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गरेको गुठीका सचिव नूरकाजी सैंजूले बताउनुभयो । “लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने चलन छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय नेवार समुदाय मात्र नभई आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने प्रलन बढेकाले झनै लोकप्रिय बन्न पुगेको छ ।”

लाखेजात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा बसोबास गर्दै आएका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने र रमाइलो गर्छन् ।

अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवतरूपमा समापन गर्ने चलन रहिआएको छ । नेवार समुदायको महान् चाड लाखेजात्राले जिल्लामा व्यापार÷व्यवसायलाई समेत सघाउ पुग्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभएको छ ।

लाखेजात्रा हेर्ने बहानामा गाउँगाउँबाट आउने दर्शकले यतिखेर दिक्तेलबजारको चहलपहल निक्कै बाक्लिएको छ । दिक्तेलबजारमा सञ्चालित होटल तथा पसलमा किनमेल गर्नेको सङ्ख्या अन्य समयभन्दा दोब्बर वृद्धि भएको व्यवसायीको भनाइ छ ।

लाखेजात्रा दिक्तेलबजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडालगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आसपासका नेवार समुदायसमेत आएर लाखेनाच प्रदर्शन गर्ने गरेका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -