स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

अन्धकारमा रहँदै आएका सर्वसाधारण लाई सौर्य उपकरण वितरण

सेयर गर्नुहोस

तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ ।

वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार रु २१ हजार छ । उक्त सोलारबाट चारवटासम्म बत्ती बाल्न पुग्छ । “उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँहरुमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो”, थापाले भन्नुभयो ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलगायतले सोलार पाएपछि घरमा बत्ती बाल्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गर्नुभयो ।

अहिलेसम्म टुकीको भरमा बत्ती बाल्दै आए पनि सौर्य उपकरण पाएपछि भने घर नै उज्यालो हुने भएको स्थानीयवासी शान्ति चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था थिएन, गाउँपालिकाले सौर्य उपकरण दियो खुशी लागेको छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -