स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

एक लाख ९२ हजारसम्मका भैंसी खरीद गरेर व्यावसायिक भैंसीपालन

सेयर गर्नुहोस

–पवित्रा घिमिरे
पाल्पामा पछिल्लो समय व्यावसायिक रुपमा भैंसी पालनमा कृषकको आकर्षण बढेको छ । यहाँ भैंसीको दूधको माग बढी भएको अनुभवका कारण पनि भैंसी पाल्ने सोचाइ भएको कृषकको भनाइ छ ।
रामपुर नगरपालिका वडा नम्बर ८ का युवा कृषक नरनारायण अर्यालले करीब रु एक करोडको लगानीमा भैंसी पालन व्यवसाय गर्न थाल्नुभएको छ । भारतबाट उन्नत जातका भैंसी खरिद गरी व्यवसाय थाल्नुभएका अर्यालको गोठमा यति बेला ३१ भैंसी छन् । गाउँ छाडेर विदेशमा पसिना बगाउनुभन्दा यहीँ केही गरे आम्दानी लिन सकिने सोच हुनुभएका अर्यालले करीब ३१ रोपनी जग्गामा घाँस लगाउन थाल्नुभएको छ ।
चार कामदार राखेर केही दिनअघि मात्रै रु एक लाख ९२ हजारसम्मका भैंसी खरीद गरेर व्यवसाय थाल्नुभएका अर्यालले यसबाट मनग्य आम्दानी लिने लक्ष्य राख्नुभएको छ । एउटा भैंसीले अहिले चारदेखि सात लिटरसम्म दूध दिन्छ । रामपुर – १० का कमल वस्तीले भैंसी पालेर दूध, घिउ, दही तथा विभिन्न परिकारसमेत तयार पारेर बिक्री गर्न सके राम्रो आम्दानी लिन सकिने बताउनुभयो । युवाले गाउँमा पनि केही गर्न सकिन्छ भन्ने सोच राखेमा कृषिबाट मनग्य आम्दानी दिन सकिने उहाँको भनाइ छ ।
आफ्ना पुर्खाले परम्परागत रुपमा भैंसी पालेरै जीविका चलाए पनि पछिल्लो समय आधुनिक तवरबाट कृषि व्यवसाय गर्न सके आर्थिक उपार्जन गर्न गाह्रो नभएको वस्तीको धारणा छ ।
भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका डा चन्द्रबहादुर रानाका अनुसार जिल्ला दूधमा आत्मनिर्भर भएको छ । उहाँका अनुसार गाईपालन गर्ने कृषक धेरै भए पनि पछिल्लो समय व्यावसायिक तरिकाबाट भैंसी पालनमा आकर्षण बढेको छ ।
जिल्लामा व्यावसायिक तरिकाबाट करीब पाँच कृषकले मात्रै भैंसी पाले पनि बजारमा भैंसीको दूधको माग बढिरहेको उहाँको भनाइ छ । पाल्पाका रामपुर, तानसेन, भैरवस्थान लगायत स्थानमा व्यावसायिक भैंसीपालक कृषक छन् ।
डा रानाका अनुसार जिल्लाबाट करीब दुई हजार पाँच सय लिटर दूध पोखरा तथा चार सय लिटर बुटवलमा खपत हुन्छ । बजारमा गाईको भन्दा भैंसीको दूध धेरैले मन पराउने भएका कारण पनि यसमा अहिले कृषक आकर्षित भएको डा रानाको विचार छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -