शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि ‘लुम्बिनी समाचार महोत्सव’ शुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तीनदिने महोत्सवको उद्घाटन गर्दै मुलुकमा सङ्घीयतापूर्व चार प्रतिशत कुल गार्हस्थ उत्पादन भएकामा सङ्घीयता कार्यान्वयन भएपछि सात दशमलव एक पुगेकाले नेपालमा सङ्घीयता सफल हुँदै गएको पुष्टि भएको बताउनुभयो ।
उहाँले प्रदेश नं ५ को आर्थिक वृद्धिदर सात दशमलव आठ प्रतिशत पुगेकामा सन्तोष व्यक्त गर्दै राष्ट्रिय योजना आयोगको मूल्याङ्कनमा आफ्नो प्रदेशका स्थानीय तहका कार्यक्षमता राम्रो देखिएको र खर्चदर पनि उल्लेख्य पाइएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कनकमुनि बुद्धको जन्म लुम्बिनको निग्लिहवा, क्रकुुछन्द बुद्धको जन्म गोटिहवा, पाणिनि र पतञ्जलिको तपोभूमि अर्घाखाँची, कपिलमुनिको आश्रम कपिलवस्तुमा भएको बताउँदै कपिलवस्तुको तिलौराकोटमा ३३ सय वर्ष पुरानो बस्ती रहेको प्रमाण भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोलीय र शाक्यहरुले नै लुम्बिनीबाट गई काठमाडौँ सभ्यता विकास गरेका हुन्, वैशालीका लिच्छविहरुले होइनन् भन्ने मलाई लाग्छ ।
अब इतिहासको पनि पुनर्लेखन गर्नु आवश्यक छ । ” नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अब समाचारका केन्द्र प्रदेश र स्थानीय तह भएको बताउँदै पत्रकारहरुको अबको मिशन आर्थिक समृद्धि र विकास हुनुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका सल्लाहकार तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले नेपालमै पहिलो पटक समाचार महोत्सवको आयोजना गरिएकाले यसलाई ब्राण्डकै रुपमा विकास गरिने बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष दीपेश पछाईले हरेक दुईदुई वर्षमा यस्तो समाचार महोत्सव आयोजना गरिने जानकारी दिनुभयो । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित महोत्सवमा आज बिहान ‘पत्रकारिता ः चुनौती र भविष्यको बाटो’ विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले साभार पत्रकारिता बढ्दोक्रममा रहेकाले यसले पेशागत मर्यादामा आँच पु्¥याउने बताउनुभयो ।
“पत्रकारहरु आफ्नो पेशाप्रति इमान्दार हुनुपर्छ, सचेत भएर आफ्ना शब्दमा खेल्नुपर्छ ”, उहाँले भन्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यम विशेषगरी अनलाइनमा आचारसंहिता बढी नै उल्लङ्घन गरिएको पाइएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले पत्रकार राजनीतिबाट टाढा रहेर काम गर्न सके उज्यालो भविष्य रहेको धारणा राख्दै पत्रकारलाई आजैदेखि राजनीतिक दलको आबद्धता त्याग्न सल्लाह दिनुभयो । पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारले राज्यमाथि प्रश्न गर्न सक्नुपर्ने बताउँदै खोजी पत्रकारिताले ठूला ठूला परिवर्तन गर्न सक्ने हुनाले यसैमा केन्द्रित हुन पत्रकारलाई आह्वान गर्नुभयो ।
पत्रकार मोहन मैनालीले पत्रकारले हरेक दिन नयाँ विषय पस्कन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा चितवनका पत्रकार अनिल ढकालले सामाजिक सञ्जालमा आउने विषयका कारण पत्रकार समस्यामा परेको गुनासो गर्नुभयो । बुटवलका पत्रकार डिआर बञ्जाडे, शिव डुम्रे, शरण कर्माचार्य, केशव भण्डारीलगायतले अर्थअभावका कारण पत्रकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गर्नुभयो । लुम्बिनी प्रेस क्लबले आयोजना गरेकोे महोत्सवमा नेपालका वरिष्ठ पत्रकार,सम्पादक, पत्रकार महासङ्घका अध्यक्ष तथा पदाधिकारी, पूर्वअध्यक्ष, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी, प्रधान सम्पादक श्याम रिमाल, पत्रकार महासङ्घका अध्यक्ष तथा पदाधिकारी, पूर्व अध्यक्ष, अग्रज पत्रकार, विभिन्न मिडियाका सम्पादक तथा विभिन्न जिल्लाका पत्रकार गरी करीब ३०० को सहभागिता छ ।