जनकपुर,धनुषा धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीमा प्रथम प्रदेश स्तरीय फुल कन्टेयाक कराते प्रतियोगिता सुरु भएको छ । सोमबार एक समारोह बीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलको उदघाटन गरेका छन् ।
मिथिलाविहारी तथा महावीर झण्डा मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न ९ तौल समूहका महिला तथा पुरुष गरेर २ सय जना खेलाडीहरु सहभागि हुने नेपाल क्योकुशिन कान कराते संघको जिल्ला अध्यक्ष पंकज यादव जानकारी दिए ।
नेपाल क्योकुशिन कान कराते संघ प्रदेश नंं २ को आयोजनामा सुरु भएको खेलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समेत सहयोग गरेको जनाएको छ ।
विजयी हुने खेलाडी तथा टीमलाई शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको संघ प्रदेश नंं २ का अध्यक्ष वैद्यनाथ यादवले जानकारी दिए ।
पुरुष तर्फ न्युनतम ३० केजीदेखि ६५ केजीसम्म र त्यस भन्दा माथिको खुल्ला समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ३० देखि ५५ के जी समूह तथा त्यसभन्दा माथिको खुल्ला समूहमा प्रतिस्पर्धा गराउने कार्यक्रम रहेको छ ।
कार्यक्रम क्रम विभिन्न पार्टीका प्रतिनिधिका साथै विशिष्ट अतिथिको रुपमा बिल्टु यादव, तेजनरायन यादव, सीता यादव लगायतको सहभागिता थियो ।
प्रतियोगिता २० गते बुधबारसम्म चल्ने आयोजकले जानकारी दिएका छन ।