सप्तरी, ११ कात्तिक : प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । प्रगतिशिल लेखक सङ्घ सप्तरीले महाकवि देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटीका सदस्य समेत रहनुभएका मण्डलले देवकोटाका सिर्जनाहरू साहित्य अनुरागीका लागि मात्र नभएर सबैका लागि प्रेरणादायी रहेका छन् भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य सरिता गिरीले सङ्ख्यात्मक र गुणात्मक दुवै रूपमा नेपाली साहित्यको भण्डार भर्नुभएका देवकोटाका सशक्त र सामाजिक चेतनायुक्त रचनाले नेपाली साहित्यको गरिमा बढाएको बताउनुभयो ।
प्रलेसका उपाध्यक्ष मेघराज पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरुप नगरका प्रमुख वसन्त कुमार, सप्तकोशीका नगर प्रमुख उत्तम शर्मा, सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेल, साहित्यकार नन्दलाल आचार्यले महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा महाकविको सम्झनामा विभिन्न साहित्यकारले कविता वाचन गर्नुभएको थियो ।