स्वागतम्,
Tuesday 30th April 2024   |   Switch to English
Times of Nepal

ज्येष्ठ नागरिकलाई दिवाकालीन आश्रम

सेयर गर्नुहोस

ज्येष्ठ नागरिकलाई फुर्सदको समयमा दिन कटाउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित व्यास नगरपालिका–५ चापाघाटमा दिवाकालीन आश्रम निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले एक्लो महसुस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने र एकापसमा भलाकुसारी गर्ने उद्देश्यले भजन सङ्कृतन समूहले दिवाकालीन आश्रम निर्माण गरेको हो ।

विभिन्न कारणले बुबाआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारालगायत ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य हुने गरेका थिए । ज्येष्ठ नागरिकको अवस्था देखेर आफ्नै ठाउँमा दिवाकालीन आश्रम निर्माण गरिएको समूहका उपाध्यक्ष विष्णु गौतमले जानकारी दिनुभयो ।

“दिउँसो ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसुस ग¥यौँ, उहाँहरु अन्यत्र गई दिन कटाउन थाल्नुभयो”, उहाँले भन्नुभयो, “त्यसैलाई मध्यनजर गरी वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौँ ।” गौतमका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । “अब ज्येष्ठ नागरिकलाई दिन कटाउन अन्यत्र जानु पर्दैन, आधारभूत सुविधासहितको आश्रम निर्माण गरेका छौँ”, गौतमले भन्नुभयो ।

यहाँका ज्येष्ठ नागरिकले एक्लोपन महसुस गरेर विगतमा आत्महत्यासम्म गरेको घटना छ । “एक्लोपन महसुस हुँदा विगतमा ज्येष्ठ नागरिकले आत्महत्या गरेको तीतो घटना हामीमाझ छ”, गौतमले भन्नुभयो, “त्यही कारण पनि आश्रम सञ्चालन गर्ने सोच बनायौँ ।” सङ्कृतन समूहले २०७२ सालदेखि कृष्णाष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा भक्तजनबाट सङ्कलन भएको दान रकम, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट दुई तले आश्रम निर्माण गरिएको समूहका सचिव शरण खनालले जानकारी दिनुभयो ।

भवन बनाउँदा रु ३५ लाख खर्च भएको छ । दिवाकालीन आश्रममा ज्येष्ठ नागरिकलाई भुलाइराख्ने वातावरण सिर्जना गर्न भजनकीर्तन र टेलिभिजनको व्यवस्था गरिनेछ । साथै सोही ठाउँमा नै उद्यान निर्माण गर्ने लक्ष्य छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले आश्रम बनाउन रु आठ लाख सहयोग गरेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -