पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिक विकासमा स्वर्गीय धर्मरत्न यमीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । राजनीतिज्ञ, लेखक एवं समाजसेवी स्व धर्मरत्न यमीको १०४औँ स्मृति समारोहमा आज यहाँ धर्म हिरा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले यमी नेपालको इतिहासको विशिष्ट व्यक्ति भएको बताउनुभयो ।
“राणाशासनविरुद्ध खरो रुपमा उत्रिनुभएका यमी देशभक्त नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । यमीले लोकतन्त्रको सवालमा काङ्ग्रेस, समानताको अधिकारका लागि कम्युनिष्ट र राष्ट्रियताका लागि राजसंस्थासँग नजिक रहेर काम गर्नुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख उषा ठाकुरले यमी साहित्य साधक, दार्शनिक, भाषाविद् र संस्कृतिविद् भएको उल्लेख गर्नुभयो । “यमी सच्चा राष्ट्रभक्त र असल प्रजातन्त्रवादी हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
पूर्वमन्त्री केशवमान शाक्यले यमी आँटिलो व्यक्ति र स्पष्ट वक्ता भएको बताउँदै उहाँको जीवनबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । विसं १९७२ मा काठमाडौँमा जन्मनुभएका यमीका विभिन्न भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशन भएको प्रतिष्ठानका अध्यक्ष तिमिला थापाले जानकारी दिनुभयो । यमीको २०३२ सालमा निधन भएको थियो ।