गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र सभ्य समाज निर्माणमा सामाजिक सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्ण शाखाको १५औँ पदस्थापन समारोहको उद्घाटन समारोहमा उहाँले गरीब र विपन्न वर्गको उत्थानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गण्डकी प्रदेशमा अहिले पनि २८ प्रतिशत जनता निरक्षर रहेको र कतिपय साक्षरले समेत आधुनिक प्रविधिको भरपुर उपयोग गर्न नसक्ने बताउँदै उहाँले त्यस्ता वर्गलाई अक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बढाउन चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा यस वर्षको रोटरी क्लब अफ पोखरा अन्नपूर्ण सामाजिक सम्मानबाट पोखरा १७ छोरेपाटनमा सञ्चालित मानवसेवा आश्रमलाई सम्मान गरिएको छ । मुख्यमन्त्री गुरुङले आश्रमका जिल्ला अध्यक्ष होमनाथ तिमिल्सिनालाई सम्मान पत्रले सम्मान गर्नुभयो ।
क्लबका अध्यक्ष रामचन्द्र शर्माले समाजको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका आधारभूत आवश्यकतासहित समाजका विपन्न वर्गको उत्थानमा जोड दिइने लक्ष्य रहेको जानकारी दिनुभयो ।
क्लबका निवर्तमान अध्यक्ष सुरेशकुमार ध्वजुले संस्थाले एक वर्षको अवधिमा वातावरण, सरसफाइका साथै शिक्षा, स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।