पोखरा, ८ चैत : भरतपोखरी विकास मञ्चको आयोजना एवं वडा शिक्षा समिति, पोखरा महानगरपालिका– ३३ को सहयोगमा आज आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ ।
‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रियामा वक्ताले संविधानप्रदत्त अधिकार बमोजिम स्थानीय तहबाट बन्दै गरेका शिक्षा नीति दीर्घकालीन सोचका साथ बनाइनुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिंहदरबारका अधिकार स्थानीय तहमा आइसकेका अवस्थामा अब काम नगर्ने छुट नभएको उल्लेख गर्दै आवश्यकता र व्यवहारका आधारमा शिक्षा नीति तयार गरी बढ्नुपर्ने बताउनुभयो ।
नेपाल हरेक दृष्टिबाट सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उहाँले उपलब्ध साधन स्रोतको पहिचान र अधिकतम उपयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।
‘प्रदेशको विद्यालय शिक्षा कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा अशोक थापाले स्थानीय तहले दीर्घकालीन योजना र स्थानीय आवश्यकताका आधारमा शिक्षालाई सफल कार्यान्वयनको दिशामा अगाडि बढाउनुको विकल्प नभएको बताउनुभयो ।
स्थानीय सरकारलाई दिएको अधिकारको सही कार्यान्वयन हुनसके यसले सकारात्मक प्रभाव पार्ने र शिक्षा क्षेत्रले सही फड्को मार्नसक्ने उहाँले उल्लेख गर्नुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएका अवस्थामा आवश्यकता र औचित्यता समेतलाई दृष्टिगत गरी शिक्षाको विकासमा जुट्नुपर्ने बताउनुभयो । संविधान दिएको अधिकारको कार्यान्वयनमा खुट्टा कमाउन नहुनेमा उहाँको जोड छ ।
वडा अध्यक्ष एवं वडा शिक्षा समितिका अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षण संस्था एक अर्कामा दोषारोपण गर्न भन्दा पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त्यस तर्फ लाग्नुपर्ने बताउनुभयो ।
विद्यालय विद्यार्थी सङ्ख्या बढाउने मात्र नभइ कसरी गुणस्तरीयता बढाउन सकिन्छ त्यस तर्फ केन्द्रित बन्नुपर्ने उहाँको भनाइ छ ।
शिक्षा र समाज एक अर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले समाजलाई चेतनशील बनाउँदै शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले शिक्षाको विकासका लागि सकारात्मक बहसको शुरुवात गर्ने लक्ष्यका साथ अन्तक्र्रिया आयोजना गरिएको बताउनुभयो ।
सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षाको विकास सम्भव भएको उल्लेख गर्दै उहाँले पोखरा ३३ भित्र प्राविधिक शिक्षा सञ्चालनमा सामूहिक प्रयास गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, वडा शिक्षा समितिका सदस्य यज्ञप्रसाद अधिकारी, सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, स्रोत व्यक्ति हेमराज आचार्य लगायतले स्थानीय तहबाट बन्ने शिक्षा नीति स्थानीय आवश्यकता एवं औचित्यता समेतका आधारमा हुनुपर्नेमा जोड दिँदै यसका लागि सामूहिक प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो ।