स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन सुरु

Sudurpashchim Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि प्रदेशसभा भवन धनगढीमा सुरु भएको छ । पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सदस्य मानबहादुर रावलले सुदूरपश्चिम प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन २०७६ सहित) लाई स्वीकार गरियोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकको कारबाही प्रारम्भ गर्दै ज्येष्ठ सदस्य रावलले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा वाचन गर्दै प्रदेशसभाको गरिमा कायम राखेर कार्यकाल उपलब्धिपूर्ण बनाउनमा प्रदेशसभाका सदस्य सफल हुने विश्वास व्यक्त गर्नुभयो । ज्येष्ठ सदस्य रावलले प्रदेशसभा नियमावली बमोजिम आफ्नो अनुपस्थितिमा सभाको बैठकको अध्यक्षता गर्न प्रदेशसभा सदस्य पृथ्बीबहादुर सिंह, जानकीदेवि कुवँर, चक्र मल्ल, खुशीराम चौधरी र माया पन्तलाई मनोनयन गरिएको सदनलाई जानकारी गराउनुभयो ।

बैठकमा दिइएको विषेश समयमा प्रदेशसभा सदस्यले प्रदेशसभाको पाँच वर्षे कार्यकाललाई प्रदेशको समृद्धिको पक्षमा लैजान सामूहिक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । पहिलो बैठकको विषेश समयमा नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नेकपा (एमाले) का राजेन्द्रसिंह रावल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, राप्रापाका खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले समसामयिक विषयमा बोल्नुभएको थियो ।

यसअघि ज्येष्ठ सदस्य रावलले प्रदेशसभाका सभामुखको निर्वाचन यही पुस २८ गते तोकिएको जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक यही पुस २८ गते तोकिएको छ । राज्यको पुनःसंरचनापछि गठन भएको प्रदेशसभाको यो दोस्रो कार्यकाल हो । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -