स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

प्रधानमन्त्री केपी शर्मा ओली - ton
सेयर गर्नुहोस

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो ।

विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो ।

विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उहाँले भन्नुभयो, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो ।”

फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उहाँले दावी गर्नुभयो । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उहाँले जिकिर गर्नुभयो । हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रुपमा रहनुभएको उहाँको तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उहाँले दावी गर्नुभयो ।

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाई एमालेले गर्ने अध्यक्ष ओलीले बताउनुभयो । “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो” उहाँले दोहो¥याउनुभयो ।

उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहलमा बागमती, विष्णुमतिजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ ।”

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -