स्वागतम्,
Sunday 28th April 2024   |   Switch to English
Times of Nepal

गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा परिपालना गर्न अध्यक्ष प्रचण्डको आग्रह

Pushpa Kamal Dahal - The Times of Nepal - TON
सेयर गर्नुहोस

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गर्नुभएको छ ।

मध्यपुरथिमि नगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख उम्मेदवारलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिनुहुँदै उहाँले गठबन्धनको मर्म र भावनालाई पूर्णरूपमा इमान्दार भएर परिपालना गर्न आग्रह गर्नुभयो । अध्यक्ष दाहालले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिनुभएको माओवादीका कन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनुभयो । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग उहाँले आज छलफल गर्नुभएको हो ।

अध्यक्ष दाहालले वर्तमान गठबन्धनको विरुद्धमा देशी–विदेशी शक्ति लागिरहेकाले उनीहरूको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभएको नेता ढकालको भनाइ छ । अध्यक्ष दाहालले लोकतन्त्र र संविधान रक्षाका लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेको जानकारी गराउँदै उहाँले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरूलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दाबी गर्नुभयो । व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष दाहालले वर्तमान गठबन्धन व्यवस्था रक्षाका लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताउनुभयो ।

उहाँले मध्यपुरथिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रूपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो ।

“अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकाले उत्साहित भएर आएका छौँ”, उपप्रमुखका उम्मेदवार विजयकृष्ण श्रेष्ठले भन्नुभयो । मध्यपुरथिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका निवर्तमान नगर सभापति हुनुहुन्छ भने उपप्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठ माओवादी केन्द्रका नगर अध्यक्ष हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -