स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

सम्पदाभन्दा सम्पति प्यारो, सयवर्ष पुरानो पिपल मासेर सटर

सेयर गर्नुहोस

म्याग्दीको बेनी नगरपालिका– ७ बेनी सामुदायिक माविको छेवैमा रहेको करिब १०० वर्ष पुरानो पिपलको रुख मासेर व्यापारिक प्रयोजनका लागि सटर बनाइएको छ । बेनी बजार विस्तारसँगै हिन्दूहरुले भगवान् विष्णुको अवतार मानेर पूजा गर्ने र वातावरणीय दृष्टीले पनि महत्व रहेको पिपलले बटुवालाई सितलता दिलाउँछ भन्दै विसं १९९७ मा भट्टचन थर गरेका एक व्यक्तिले पिपल रोपेका थिए । पिपलको रूख रातारात हटाउन खोज्दा सबैतिरबाट चर्को विरोध पनि भएको थियो ।

सर्वसाधारणलाई पैदल हिँडन्, सवारीसाधनबाट आवतजावत गर्न र विद्यालयको पार्किङ्स्थलका लागि पिपल काटिएको वडाका जनप्रतिनिधिले जिकिर गरे । घाम चर्कदा र पानी पर्दा ओत लाग्ने सानो प्रतिक्षालय जस्तै बनेको पिपल मास्ने कार्य नरोखिएको भन्दै चौतर्फी भएको विरोधलाई बेवास्ता गर्दै नगरपालिकाले आन्तरिक आम्दानीको नाममा मनलाग्दी तरिकाले सटर बनाएर भाडा दिएको हो ।
अस्थायी ट्याङ्की राख्न सम्झौता गरी प्रति हात रू ६०० भाडा तिरेका व्यापारीले सम्झौता विपरीत शक्ति र पहुँचको आडमा पक्की संरचना बनाउदासमेत नगरपालिका मौन बसेको छ । वडा नं ७ र ८ भित्र बढ्दो सहरीकरणले व्यस्त सडकसहित खाली रहेकास्थान सार्वजनिक हितका लागि प्रयोग गरिनुपर्नेमा ठाउँ खाली देख्ने वित्तिकै भाडामा दिने गरिएको छ । बजारभित्र सार्वजनिकस्थानमा वडाका जनप्रतिनिधिको अगुवाइमै भाडामा लगाउने गरिएको छ ।

दैनिक लाखौको करोबार गर्नेलेसमेत सस्तोमा बस्न पाएपछि सार्वजनिक जग्गामा अस्थायी संरचना हालेर व्यवसाय गर्ने होडबाजी नै चलेको एक स्थानीयवासीले बताए । “विपन्नलाई जीविकोपार्जनका लागि बनाइएका संरचनामा पनि व्यापारीको नजर परेको छ, नगरलाई समेत जानकारी नदिई पक्की संरचना बनाउन थालिएका छन्” ट्याङ्कीको व्यवसाय गरेकी एक महिलाले गुनासो गर्नुभयो ।

उहाँका अनुसार भाडामा दिइएका संरचनासमेत नगरपालिकासँग कुनै समन्वय नगरी कङ्क्रिटको पिल्लर ठड््याएर, महँगोमा खरिदबिक्रीसमेत भएको छ । जिल्लाको प्रमुख प्रशासनिक क्षेत्र वीरेन्द्रचोक, पुस्तकालय चोकआसपास तथा कालीपुल, बसपार्कका सार्वजनिक जग्गामा बनाइएको संरचना प्रयोग गरेबापत व्यापारीले प्रतिहात ६०० देखि एक हजार १०० सम्म तिर्ने गरेको नगरपालिकाले जनाएको छ ।

बजारभित्र ट्याङ्की र ठेलासहितका ६० वटा अस्थायी संरचनालाई मासिक भाडा तिर्ने गरी प्रयोग गर्न दिइएको छ । गतसाता सदरमुकामलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाबीच भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले भाडामा दिइएको संरचनालाई आवश्यकताअनुसार हटाउन सकिने बताउनुभयो ।

नगरपालिकाले नै भाडामा दिएका संरचना नै बेनीबजारलाई सुन्दर र व्यवस्थित बनाउन बाधक बनेको भन्दै नगरको आम्दानीको नाममा पार्किङ तथा सार्वजनिक महत्वको स्थान अतिक्रमणले खुम्चिएको सरोकार निकायका प्रतिनिधिले चर्को गुनासो गरेका थिए । “खाली ठाउँमा सटर हालेर आम्दानी गर्ने प्रवृत्तिले समस्या हुनाका साथै ट्राफिक व्यवस्थापनमा पनि निकै समस्या भयो” प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भन्नुभयो ।

उहाँले यस्ता अनेकन समस्याका कारण एकतर्फी पार्किङसहितको अभियान नै प्रभावकारी बनाउन असहज भएको बताउनुभयो । सार्वजनिकस्थललाई नगरपालिकाले कमाइको भाँडो बनाइरहेकामा आलोचनासमेत भएको थियो । सार्वजनिक ठाउँलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दा बढ्दो सहरीकरणले बजारभित्र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयका लागि ठाउँसमेत छैन् । बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले सटर र आसपासमा राखिएका ठेला व्यवसायका कारण उक्त माविमा अध्ययनरत विद्यार्थीलाई प्रवेशमा ठूलो समस्या भएको बताउनुभयो ।

“विद्यार्थीलाई हिँड्न अप्ठेरो भएको छ,‘विद्यालयको समस्यामा सरोकार निकाय मुखदर्शक बनेको छ” उहाँले भन्नुभयो । विद्यालयको प्रवेशद्वारमा ठेला, सटर हाल्ने, सवारीसाधनको पार्किङलाई हटाउन पटक–पटक नगरपालिका, प्रशासनलगायत सरकारी निकायलाई ज्ञापनपत्र समेत बुझाइए पनि वास्ता नगरिएको प्रअ श्रेष्ठको भनाइ थियो ।
बजारमा विभिन्न व्यवसायीले घरभन्दा बाहिर जस्तापाता राखेर सडक ढोक्ने गरी सामान झुड्याउने गरेकाले त्यसलाई हटाउनका लागि दिइएको एक हप्ताको सूचना बुधबार सकिँदै छ । नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, जिल्ला उद्योग वाणिज्य संघबीच ट्राफिक कार्यालयबीच ७ र ८ वडामा पर्ने सदरमुकामलाई सुन्दर बनाउन व्यवस्थित पार्किङ, फराकिलो बाटो, सार्वजनीकस्थलमा सरसफाइ, सिसी क्यामरा जडानलगायत कार्यलाई व्यवस्थित बनाउन पटक–पटक भएका छलफल र सार्वजनिक प्रतिबद्धता कार्यान्वयन नहँुदा बजार लथालिङ्ग भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -