स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

मुन्दुम पदमार्गः जहाँ आँखैमा हिमशृङ्खला टाँसिन्छ

सेयर गर्नुहोस

भोजपुर, २७ भदौ (रासस) ः ‘मुन्दुम पदमार्ग’ नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ ।

पूर्वी नेपालका खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धधन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको हो । विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइँमा पर्ने पर्यटकीय गन्तव्य हो, ‘मुन्दुम पदमार्ग’ ।

यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । जुन बाटो गयो त्यही बाटो फर्किंदा जम्मा ९ दिन पदयात्रा हुन्छ । र्फकने बेला मैयुङबाट सुन्तले हुँदै भोजपुर बजार पुगिन्छ । पदमार्गका चखेवा भञ्ज्याङ, धोत्रे र साल्पा भञ्ज्याङमा सामान्य खाना र बास सुविधा छ । त्यसैले हालका लागि यो क्षेत्रमा क्याम्पिङ ट्रेक गर्नुपर्ने देखिन्छ । पदयात्रा सुरु गरेर अघि बढ्दा बास बस्नका लागि चखेवा भञ्ज्याङ, धोत्रे भञ्ज्याङ, सातदोबाटे, रावाधामप, साल्पा भञ्ज्याङ उपयुक्त ठाउँ हुन् । त्यस्तै र्फकने बेला हयाकुले, मैयुङ डाँडा र भोजपुर बजारमा बास बस्नुपर्छ ।

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटका मनोरमदृश्य अवलोकन गर्दै यात्रागर्नु यस पदमार्गको एउटा विशेषता हो । उकालोओरालो हुँदै फैलिएको उक्त पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनङघा, कुम्भकणर्लगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौरी, भेडिगोठ, लगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातीको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने आर्गानिक खानेकुरा, विभिन्न किसिमका वन वनस्पति, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थान पनि हो, यो ।

किराँत राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किराँत राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ । नेपाल सरकारले छनोट गरेको घुम्नै पर्ने १०० पर्यटकीय क्षेत्रमा सूचीकृत पर्यटकीय क्षेत्र पनि हो । पदमार्गीको यात्रालाई सहज, सरल र आनन्ददायी बनाउन दुई मिटर चौंडा भएको ६२ किलोमिटर पदमार्ग निर्माण सकिएको छ, भने २६ किलोमिटर निर्माण हुन बाँकी छ । भोजपुरका चार र खोटाङका दुई स्थानीय तहमा पदमार्ग निर्माण गर्न करिब रु दश करोड खर्च भएको छ ।

प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक आउने गरेका छन् । यो पदमार्गमा आन्तरिकसँगै जापानीज, अमेरिकन, स्वीसलगायतका देशका पर्यटकले यात्रा गरिसकेको टेम्केमैयुङ गाउँपालिकाका मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो । यहाँको पयर्टकीय क्षेत्रको सम्भावनाको अध्यन गर्न पर्यटक विज्ञहरुलेसमेत यात्रा गरिसकेको अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यो पदमार्ग नेपालको एउटा प्राकृतिक सौदर्यताले भरिएको पदमार्ग हो । देशमा यति धेरै प्राकृतिक विशेषताले भरिपूणर् यस्ता भर्जिन पदमार्ग कमै छन् । प्राकृतिक सुन्दरमा रमाउँदै यात्रा गर्नेको लागि यो मार्ग पहिलो रोजाइँमा पर्दछ ।’’ उहाँका अनुसार विभिन्न देशबाट पनि पर्यटक आउने क्रम जारी छ । कोरोना भाइरस सङ्क्रमणका कारण धेरै पर्यटक आउन सकेका छैनन् । अवस्था सामान्य बन्नासाथ यहाँ धेरै पर्यटक आउने तयारीमा छन् । यसले नेपालसँगै अन्तर्राष्ट्रियस्तरमा समेत छवि बनाएको छ ।

नेपालको प्राकृतिक सम्पदाको रुपमा विकास गर्न सरकार लागि परेको अध्यक्ष राईले जानकारी दिनुभयो । नेपालमा विदेशी पर्यटक पैदलयात्राका लागि आउने भएकाले यस्ता पदमार्गलाई सडक विस्तारले असर गरेको उहाँको भनाइ छ । ‘‘यसलाई प्राकृतिक सम्पदाका रुपमा विकास गर्न सरकारसँगै हामी लागेका छौँ । नेपालमा आउने पर्यटक पैदलयात्रा गर्नका लागि आउने हो, तर यस्ता पदमार्गलाई सडक विस्तारले ठूलो असर पुर्‍याउने अवस्था छ । यो एउटा चुनौतीको रुपमा थपिएको छ”, उहाँले भन्नुभयो । यो पदमार्गलाई सप्तकोशीदेखि सगरमाथाको वेस क्याम्पसम्ममा विस्तार गर्न सकिने उहाँको भनाइ छ ।

पर्यटकलाई लक्षित गरेर ८८ किलोमिटर पदमार्ग निर्माण भइरहेको छ । तीमध्ये हालसम्म ६२ किलोमिटरले पूणर्तासमेत पाएको छ । भोजपुरका चार र खोटाङका दुई स्थानीयतहलाई लक्षित गरेर पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पाछिलिछो गाउँपालिका र खोटाङको साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार भइरहेको छ । पदमार्ग निर्माणको काम भोजपुरका दुई र खोटाङको एक स्थानीय तहमा सम्पन्न भइसकेको छ । भोजपुर नगरपालिकाभित्र पर्ने वडा नं १० साम्पाङ चोकदेखि षडानन्द नगरपालिकाको सिमानामा पर्ने वर्षे चौतारासम्मको १२ दशमलव पाँच किलोमिटर निर्माण काम सम्पन्न भएको छ । त्यस्तै वर्षे चौतारादेखि एकरातेसम्म षडानन्द नगरपालिका क्षेत्रमापर्ने सात किलोमिटरको निर्माणको काम पनि सकिएको छ ।

त्यस्तै खोटाङको साकेला गाउँपालिकाको तावा भञ्याङदेखि चखेवासम्म दश दशमलव पाँच किलोमिटर निर्माणको काम पनि सकिएको छ । टेम्केमैयुङ, साल्पासिलिछो गाउँपालिका र खोटाङको केपिलासगढी गाउँपालिका क्षेत्रमा भने काम सम्पन्न हुन केही बाँकी रहेको मुन्दुम पदमार्ग प्रबद्र्धन परियोजनाले जनाएको छ । मुन्दुम पदमार्गको सबैभन्दा बढी क्षेत्र टेम्केमैयुङ गाउँपालिकामा रहेको छ । यहाँ पर्ने ४९ किलोमिटरमध्ये हालसम्म १९ किलोमिटर सकिएको छ भने ३० किलोमिटर बाँकी रहेको परियोजनाले जनाएको छ । यहाँको चखेवाभञ्याङ-धोद्रे-हाँस पोखरीदेखि एकतिम्माको एकरातेसम्म १९ किलोमिटर निर्माण सम्पन्न भएको हो ।

त्यस्तै खोटाङको केपिलासगढी गाउँपालिकामा पर्ने १६ किलोमिटर पदमार्गमध्ये छ किलोमिटर सम्पन्न भएको छ भने दश किलोमिटरको काम निर्माण हुन बाँकी रहेको छ । यस स्थानीय तह अन्तर्गत तारा खसेकोदेखि साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने निकास मानेसम्म पदमार्गले छोएको छ । पदमार्ग निर्माणसँगै यहाँ किराँत राईहरुको संस्कार, संस्कृति झल्कने खालको विभिन्न संरचना निर्माण गर्दा रु नौ करोड ९९ लाख ६८ हजार खर्च भएको मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजनाका टिम लिडर हीराबाबु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६२ किलोमिटर पदमार्ग निर्माणसँगै पर्यटकका लागि २१ विश्रामस्थल, २३ खानेपानी धारा, ५७ ढुङ्गे चौतारा निर्माण भएका छन् । त्यस्तै किराँत राईको संस्कृति झल्कने (चिण्डो आकारका) १५ पोखरी निर्माण गरिएको छ ।

टिम लिडर थापाले भन्नुभयो, ‘‘यो पदमार्गमा पर्यटकलाई लक्षित गरे किराँत राईको संस्कार संस्कृतिलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेका छौँ । यसले यहाँको मौलिकता झल्काउने छ । त्यस्तै उनीहरुलाई बस्नको लागि विश्रामस्थल, पानीको व्यवस्थालगायतका विभिन्न काम भएका छन् । यसले देशका अन्य पदमार्गको तुलनामा विशेष र छुट्टै किसिमले पर्टयक लोभ्याउनेमा हामी विश्वस्त छौँ । पदमार्गमा निर्माण गरिएका विश्रामस्थल चौतारा, फलैँचा, धारा लगायतमा भने स्वीस सरकारको मात्र लगानी छ ।’’

पदमार्ग प्रदेश नं १ सरकार र स्वीस सरकारको ३५/३५ र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण थालिएको हो । स्वीस सरकारको यस आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम भने सम्पन्न भएको टिम लिडर थापाले जानकारी दिनुभयो । यो परियोजना सकिए पनि प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेकाले कामलाई पूणर्ता दिन स्वीस सरकारकै कुनै अर्को परियोजनासँग सम्झौता गरेर कामलाई निरन्तरता दिने उहाँको भनाइ छ । ‘‘स्वीस सरकारको गत आर्थिक वर्षको परियोजनासँगको सम्झौता सकिएको छ । तर निर्धारित काम अझै ३० प्रतिशत बाँकी छ । प्रदेश र स्थानीय सरकारले साझेदारीको लागि बजेट विनियोजन गरिसकेका छन् । पूणर्ता दिनका लागि स्वीस सरकारसँगै पुनः सहकार्य गरेर काम अघि बढाउँछौ ।’’ उहाँले भन्नुभयो ।

पदमार्ग निर्माणमा स्थानीय जनशक्तिसँगै स्थानीय स्रोतसाधनको प्रयोग गरिएको छ । निर्माणका क्रममा सिमेन्टको प्रयोग नभएको जनाएको छ । निर्माणमा यहीका जनशक्तिलाई परिचालन गरिएको छ । ६२ किलोमिटर निर्माणका लागि ९८६ जनाले ६५ हजार श्रमदिन काम गरेको थापाले बताउनुभयो । निर्माणमा टेम्केमैयुङ गाउँपालिकाका २२०, षडानन्द नगरपालिकाका ६१, भोजपुर नगरपालिकाका, १३८ साकेला गाउँपालिकाका, ८०, साल्पासिछिो गाउँपालिकाका ३५४ र केपिलासगढी गाउँपालिकाका २२३ जनाले रोजगारी पाएका छन् । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा पर्यटकी हब बनाउने लक्ष्य लिएको टेम्केयुङ गाउँपालिकाले जनाएको छ ।

पर्यटकीय हिसाबले पैदलयात्रा गर्ने पर्यटकका लागि ‘अल्पाइन जोन’ सन्तुलित हावापानी भएको यो पदमार्ग उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग सम्बन्धित विज्ञहरुको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी र विश्वमै कम दृश्यावलोकन गर्न सकिने भएकोले प्रमुख पदस्थलका रुपमा स्थापित हुने गाउँपालिकाको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न यो पदमार्गले सहयोग पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भन्नुभयो, ‘‘पछिल्लो समय यस पदमार्गमा पर्यटकको आगमन बढ्दो छ । यसवर्ष कोरोनाका कारण केही असर पुग्यो । गाउँपालिकाले प्रदेश र केन्द्र सरकारको सहकार्यमा यस क्षेत्रको विकासमा लगानी गरिरहेको छ ।” यस पदमार्गको अझ विकास गरेर गाउँपालिकाको मुख्य आर्थिक स्रोत बनाउने सोेचका साथ काम भइरहेको उहाँको भनाइ छ ।

पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाइर्’ आकारमा निर्माण भइरहेको छ । यो पदमार्ग भोजपुर र खोटाङको सिमाना तावा भञ्याङ- चखेवा भञ्याङ- धोद्रे-हाँस पोखरी-तारा खसको -बलौटे भञ्याङ- लौरी भञ्याङ- निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते- पखुवा भञ्याङ- बाघखोर- सुन्तले- बाघखोर हुँदै भोजपुर नगरपालिका- १० भैँसीपङखाको साम्पाङ चोकमा आएर टुङगिन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -