स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

‘विश्व मर्यादित महिनावारी दिवस’बारे प्रस्ताव तयार गर्दै सरकार

mahinawari - महिनावारी - The Times Of Nepal - TON
सेयर गर्नुहोस

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउने विषयलाई संयुक्त राष्ट्रसङ्घसमक्ष पेश गर्ने तयारी थालेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सो दिवसलाई विश्वव्यापी रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

मर्यादित महिनावारीसम्बन्धी ‘भर्चुअल’ कार्यक्रममा उहाँले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’बनाउने घोषणा पनि गर्नुभयो । त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

सरकारले छाउगोठजस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको छ । मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने कामलाई अघि बढाएको समेत बताउनुभयो । “सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन सरकार लागि परेको छ,” मन्त्री गुरुङले भन्नुभयो, “सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक सङ्घ, संस्थालाई आह्वान गर्दछु ।”

मन्त्री गुरुङले समाजमा विद्यमान लैंगिक विभेद अन्त्यका लागि ‘लैंगिक मैत्रीनीति’ निर्माण गर्ने कामलाई अघि बढाइएको जानकारी दिनुभयो । सामाजिक अभियन्ता राधा पौडेल, पशुपति कुँवरलगायतले छाउँगोठजस्ता सामाजिक कुरीतिको अन्त्यका लागि मर्यादित महिनावारीको कामलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कार्यक्रम र कार्यविधि बनाउने काम शुरु भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -