स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

बाढीपहिरोले म्याग्देका ७१ परिवार विस्थापित

Tanahun District Of Nepal-
सेयर गर्नुहोस

गत असार २८ र २९ गतेको बाढीपहिराबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् ।

म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।

विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । “ गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो,” उहाँले भन्नुभयो, “पहिलो चरणमा प्राप्त तथ्याङ्कका आधारमा राहत सहयोग गरेका छौँ ।”

विस्थापित भएका घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने क्रममा पहिलो चरणमा ७१ परिवारलाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य जोखिममा रहेका बासिन्दालाई पनि वडाबाट प्राप्त हुने विवरणका आधारमा राहत वितरण गरिनेछ ।

गत असार २८ गते आएको बाढीपहिराका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घरघरमै पुग्न थालेका छन् । नगरपालिकाका १२ वटै वडामा बाढीपहिराले क्षति भएकाले त्यसको यकिन तथ्याङ्क सङ्कलन गर्नका लागि जनप्रतिनिधिले अनुगमन सुरु गरेका हुन् ।

बाढीपहिराका कारण शुक्लागण्डकीका घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर, खानेपानी पाइप, बिजुलीको पोललगायत भौतिक संरचनामा क्षति पु¥याएको छ । क्षतिको निरीक्षण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारदेखि अनुगमन सुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।

नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नं २, उपप्रमुख सविता रसाइलीको टोलीले ८ र ९, प्रवक्ता कुमालको टोलीले ५ र प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको टोलीले ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेको छ ।

उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिकसमेत रहेका छन् । प्राविधिकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्षतिग्रस्त संरचनाको तथ्याङ्क लिने र पीडामा रहेका नागरिकलाई सान्त्वना दिने गरेका छाँै ।”

तथ्याङ्क सङ्कलनपश्चात् घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । उहाँले भन्नुभयो, “घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानान्तरण गर्ने र पहिराले अवरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम गरिनेछ”, सुवेदीले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिराका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीपहिराबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रजिअ बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

लालपूर्जा पाएपछि भूकम्प लाभग्राही खुशी

विसं २०७२ को भूकम्पले तनहुँको भानु नगरपालिका–११ निवासी जुठी दर्जीको घर भत्कियो । ऐलानी जग्गामा रहेको घर भत्किएपछि उहाँ अहिले अर्काको जग्गामा सानो टहरा बनाएर बस्दै आउनुभएको छ । आफ्नै स्वामित्वमा जग्गा नभएका कारण लाभग्राहीमा सूचीकृत भए पनि उहाँले घर बनाउन सक्नुभएन ।

आफ्नै घरमा बस्ने उहाँको चाहना अब भने पूरा हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूमिहीनलाई जग्गा खरिदका लागि रकम प्रदान गर्ने निर्णय गरेसँगै उहाँले स्थानीयवासी अर्जुन परियारसँग चार आना जग्गा खरिद गर्नुभएको छ । “भूकम्पले घर भत्कियो, घर बनाउनका लागि आफ्नै जग्गा चाहिने रहेछ”, दर्जीले भन्नुभयो, “अब त मेरै नाममा जग्गा पाएँ, बल्ल घर बन्ने भयो ।”

भानु नगरपालिका–११ का दलबहादुर घर्तीले पनि जग्गा नभएकै कारण भूकम्पबाट भत्किएको घर पुनर्निर्माण गर्न सक्नुभएको थिएन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रकम पाएपछि उहाँले पनि आफ्नै जग्गामा घर बनाउन पाउनुहुने भएको छ । “बसिरहेको ठाउँमा घर भत्कियो, जग्गा किन्न पैसा थिएन”, उहाँले खुशी हुँदै भन्नुभयो, “जग्गा किन्न सरकारले पैसा दिएपछि जग्गाको लालपूर्जा पाएको छु, अब घर बन्ने भयो ।”

जिल्ला आयोजना कार्यान्वयन इकाइले जिल्लाका पाँचजना भूकम्प लाभग्राहीलाई जग्गाको लालपूर्जा प्रदान गरेको छ । ऐलानी र जोखिमयुक्त ठाउँमा बसिरहेका र जग्गा नभएकालाई जग्गा प्रदान गर्ने प्राधिकरणले निर्णय गरेबमोजिम भानु नगरपालिका तीन, बन्दीपुर गाउँपालिकाका एक र आँबुखैरेनी गाउँपालिकाका एक लाभग्राहीले जग्गा पाउनुभएको छ ।

जग्गा कार्यविधिबमोजिम जग्गा खरिद गर्नका लागि अधिकतम रु दुई लाख दिने नीतिबमोजिम पाँच जनालाई उक्त रकम प्रदान गरिएको इकाइका प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिका–११ का जुठी दर्जी, भानु नगरपालिका–११ का दलबहादुर घर्ती, भानु नगरपालिका–१० का सावित्री कुमाल, बन्दीपुर गाउँपालिका–६ का आइतमाया भुजेल र शुक्लागण्डकी नगरपालिका–१२ का विष्णुमाया कुमाललाई जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ । उहाँहरुलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जग्गाको लालपूर्जा प्रदान गर्नुभएको थियो ।

पाँचजना लाभग्राहीले स्थानीय व्यक्तिहरुसँग जग्गा खरिद गरेका थिए । जग्गाधनीहरुलाई पनि सोही अवसरमा रु दुई लाखको चेक हस्तान्तरण गरियो ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले जग्गा नहुँदा घर बनाउन नपाएकाहरुलाई जग्गा खरिदका लागि रकम दिने सरकारको निर्णय सकारात्मक रहेको बताउनुभयो । “सरकार जनताको अभिभावक, जनताको दुःखमा राज्य छ भन्ने यो निर्णयले प्रत्याभूति गरेको छ,” उहाँ भन्नुभयो । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले वर्षौंदेखि ऐलानी जग्गामा बस्दै आएका विपन्न व्यक्तिले हातहातमै लालपूर्जा पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गत आर्थिक वर्ष ०७५÷७६ मा ११ जनालाई जग्गा खरिदका लागि जनही रु दुई लाख वितरण गरिएको थियो । जिल्लामा १४ हजार तीन सय ९५ पूर्ण र एक हजार पाँच सय ६८ आंशिक गरी कूल १५ हजार नौ सय ६३ लाभग्राही सूचीकृत छन् । हालसम्म आठ हजार तीन सय ८४ घर निर्माण सम्पन्न भएको इकाइले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -