स्वागतम्,
Friday 3rd May 2024   |   Switch to English
Times of Nepal

विधि प्रक्रिया र कानूनका आधारमा सरकार अघि बढ्दै

सेयर गर्नुहोस

२४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विधि प्रक्रिया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताउनु भएको छ । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्पm उन्मुख रहेको बताउनुभयो । आवश्यक भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवद्र्धन, खेलकूदको विकाससँगै सुशासनको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले सरकारले विकास र समृद्धिका लागि गोरेटो समातिसकेको छ भन्नुभयो ।

प्रदेश सरकार जनताको नजीकको सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्म र भावनाका साथै जनताले अपेक्षा गरेको समृद्धि र विकासको चाहना पूरा गर्नेतर्पm सरकार उन्मुख रहेको धारणा राख्नुभयो । सङ्घीय शासन प्रणालीअनुसार सङ्घ सरकारले प्रदेशको भावनालाई मनन गरेसँगै विश्वास पलाएको बताउँदै उहाँले यसले प्रदेशसभा र सरकारको प्रभावकारिता बढेको बताउनुभयो ।

सभामा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अन्नपूर्ण आधार शिविरअन्तर्गत पदयात्राका क्रममा बेपत्ता भएका सातजनाको खोजीका लागि बिहीबार २५ जना पर्वतारोहीको टोली त्यसतर्पm पठाइएको बैठकमा जानकारी दिनुभयो । माघको २ गते परेको हिउँका कारण पदयात्रामा गएका तीन नेपाली र चार कोरियाली नागरिक बेपत्ता भएको स्मरण गर्दै उहाँले लगातार हिउँ परेका कारण उद्धारमा कठिनाइ परेको बताउनुभयो ।

पदमार्गलाई सुरक्षित बनाउने उद्देश्यका साथ प्रदेश सरकारले रु एक करोड ५० लाखको लागतमा विभिन्न तीन स्थानमा उद्धार केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री चुमानले त्यसका लागि फागुन महिनाबाट काम शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

विधेयक विधायन समितिमा पठाउन सर्वसम्मत निर्णय

आजै बसेको प्रदेशसभा बैठकले ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको स्थापना र सञ्चालन’ गर्न बनेको विधेयक विधायन समितिमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । बैठकमा सामाजिक विकासमन्त्री नरदेवी पुनले विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत निर्णय गरेको हो ।

यसअघि विधेयक माथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य मधु अधिकारी गुरुङ, विन्दुकुमार थापा, कृष्णबहादुर थापा र हरिशरण आचार्यले भाग लिनुभएको थियो । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीका अनुसार अर्को बैठक माघ २८ गते १ बजे बस्नेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -