स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल

आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल
सेयर गर्नुहोस

२४ मङ्सिर : प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।

प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को आज यहाँ शिलान्यास गर्दै उहाँले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नुपर्छ भन्नुभयो । मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौ ।” मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेकोमा जोड दिनुभयो ।

करिव ५५० बिघाहा क्षेत्रफलमा निर्माण हुन सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको दुई तले गैंँडाको मूर्ति निर्माण हुनेछ । मूर्तिकोभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार सङ्ग्रहालय र बहुजातीय सङ्ग्रहालय तयार हुनेछन् सो गैँडाको मूर्ति तयार गर्न मात्र रु दुई करोड ८९ लाख ४४ हजार खर्च लाग्ने जनाइएको छ ।

उद्यान सम्पन्न गर्दा रु २३ करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जङ्गल सफारी, असाहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुने छन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले मेघौली क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको चर्चा गर्दै राईनो उद्यानले समग्र जिल्लाको पर्यटन विकासमा सहयोगी हुने बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका – २७ का अध्यक्ष गोविन्द तामाङ्, वडा नं–२८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरी लगायतले मेघौली क्षेत्रको पर्यटनको बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञविश्व सुवेदीले शिलन्यास भएको मेघौली गैँडा उद्यान र यसक्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ्, कुमाल र तामाङको झाँकी एवं सारङ्गी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -