स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट

सेयर गर्नुहोस


नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिनुभयो ।

भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी गर्नुभएको थियो ।

प्रत्युत्तरमा राष्ट्रपति हमिदले नेपालमा लगानी गर्न इच्छा व्यक्त गर्नाका साथै विद्युत् खरीद गर्न पनि बङ्गलादेश तयार रहेको बताउनुभएको डा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति हमिदले उच्चस्तरीय भ्रमण कम भएको प्रसङ्ग जोड्दै भ्रमण बढाउनुपर्नेमा पनि जोड दिनुभएको थियो । बङ्गलादेशको स्वतन्त्रता क्रान्तिमा नेपालले सहयोग गरेकामा उहाँले खुशी व्यक्त गर्दै योगदान पु¥याउने १३ नेपालीलाई सम्मान गरिएको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपालमा हुनुहुन्छ । यसअघि मङ्गलबार उहाँसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गर्नुभएको थियो भने आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसक्नुभएको छ ।

आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि राष्ट्रपति हमिदको भेटवार्ता हुँदै छ । भक्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन भ्रमण गर्नुभएका उहाँले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ । मङ्गलबार आउनुभएका राष्ट्रपति हमिद भ्रमण सम्पन्न गरी यही कात्तिक २९ गते स्वदेश फर्कनुहुनेछ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -