कटुस बिक्रीबाट राम्रो आम्दानी

कटुस बिक्रीबाट राम्रो आम्दानी


२३ कात्तिक : भोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ ।

स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । लेकाली भेगमा पाइने रातोपात्ले तथा सेतो पात्लेमा फलेको कटुस बिक्रीका लागि स्थानीयवासी हाटबजारसम्म धाउने गरेका छन् । खानको लागि निकै स्वादिष्ट मानिने कटुस मानिसको रोजाइँमा पर्ने गरेको छ ।

Advertisement

कटुसको बिक्रीबाट यो मौसममा निकै राम्रो आम्दानी हुने गरेको बिक्रेताको भनाइ छ । कटुस बिक्रेता दानमाया तामाङले भन्नुभयो, ‘‘कटुस बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छांै, एक बोरा बिक्री गर्दा रु पाँच हजारसम्म हुन्छ ।’’ एक मौसममा टिपेको कटुस बिक्रीबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउन थालेको तामाङले बताउनुभयो । भोजपुरमा फलेको कटुस विभिन्न जिल्लासँगै कोसेलीको रुपमा विदेशसम्म जाने गरेको व्यापारीको भनाइ छ ।

जङ्गलमा टिप्न जाँदा एक जनाले एक दिनमा पाँचदेखि दश केजीसम्म टिप्ने गरेको उनीहरुले बताउने गरेका छन् । शुरुको समयमा प्रतिकेजी रु २५० देखि ३००मा बिक्री गरेको भए पनि अहिले उत्पादन बढ्न थालेपछि मूल्य केही घटेको बिक्रेता बताउँछन् ।

कटुस बिक्रेता विर्खराज तामाङले भन्नुभयो,‘‘निकै स्वादिष्ट हुने भएकाले यसको माग बजारमा बढी छ, यो तराईका जिल्लासँगै विदेशसम्म कोसेलीको रुपमा जाने गरेको छ ।’’ विषेश गरेर असोजको अन्तिमबाट खान मिल्ने कटुस माथिल्लो भेगमा बस्ने स्थानीयवासीको निकै राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । कटुस भुटेर तथा काच्चै पनि खान मिल्ने एक प्रकारको फल हो ।

User Avatar
रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

सम्बन्धित पोस्टहरू

भिडियो

छुट्यो कि?