स्वागतम्,
Wednesday 1st May 2024   |   Switch to English
Times of Nepal

पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै

सेयर गर्नुहोस

 १६ कात्तिक :पर्यटकीय नगरी पोखरामा सञ्चालीत अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ ।

एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको थलो बनेको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १०० रोपनी जग्गामा निर्माण गरी एक दशकअघिदेखि सञ्चालनमा आएको सङ्ग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्ग्रहालय खुला गरिएयता हालसम्म विद्यार्थी नौ लाख ३४ हजार, ६६७, सर्वसाधारण नेपाली सात लाख, २० हजार २३६, सार्कस्तरीय पर्यटक एक लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका दुई लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन् । वर्षमा ३६५ दिनै खुला रहने सङ्ग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको बताउँदै उहाँले बगैँचा र निःशुल्करुपमा अवलोकन गर्नेको सङ्ख्यासमेत उल्लेखनीय रहेको बताउनुभयो ।

सङ्ग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका बारेमा विस्तृत जानकारी लिन सकिने उहाँको भनाइ छ ।

साढे छ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका आठ हजारभन्दा अग्गा १४ वटा हिमाल र तीनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ । यसमा आठ हजार भन्दाबढी उचाइका आठ वटा हिमचुचुरा नेपालमा पर्दछन् । हिमालको काँठमा बसोबास गर्ने स्थानीय बासिन्दाको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री सङ्कलन गरी सङ्ग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको निर्देशक गौतमले बताउनुभयो ।

विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा सङ्ग्रह गरिएको छ । सो कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा विभिन्न उपकरण सङ्कलनसहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको बताउँदै उहाँले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने सङ्ग्रहालयमा यतिखेर विद्यार्थी रु ५०, नेपाली रु १००, सार्कस्तरीय रु २५० र बाह्य पर्यटकका लागि रु ५०० र बगैँचामा घुमफिरका लागि रु ३० टिकट दर कायम गरिएको छ ।

कूल रु १० करोडको लागतमा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारबाट रु ३० लाख, जापान एक करोड ४५ लाख ७८ हजार १११, कोरिया छ लाख ६९ हजार ३००, चीन तीन लाख ३६ हजार ७५०, भारत तीन लाख २० हाजर, स्पेन ३७ लाख सहयोग प्राप्त भएको छ भने स्वदेशी र विदेशी मुलुकका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट लगभग चार करोड र बाँकी नेपाल पर्वतारोहण सङ्घले व्यहोरेको थियो ।

सङ्ग्रहालय भवनको अगाडिको भागमा निर्माण गरिएको मनासलु हिमालको मोडल र याकको मूर्ति अहिले सो स्थानमा पुग्ने जुनसुकै उमेरका अवलोकनकर्ताका लागि पनि थप आकर्षण बनेको छ । परिसरमा रहेको ३१ मिटर अग्लो नमूना हिमाल, माउन्टेन क्लाइम्बिङ बाल, पोखरा तथा चट्टानी बगँैचा, नेपाली घरको आकर्षण नमूनालगायतले जो कोहीलाई लोभ्याउने गरेको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो ।

मुलुकको पर्यटकीय राजधानीका रुपमा अगाडि बढेको पोखरामा आउने पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै उहाँले प्रदेश सरकारले सञ्चालन गरेको नयाँ गन्तव्य र (होमस्टे) घरबास प्रवद्र्धनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -