स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

खेलकूद सरकारको प्राथमिकतामा : मन्त्री विश्वकर्मा

सेयर गर्नुहोस

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकारले खेल क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

‘स्वास्थ्यका लागि खेलकूद’ भन्ने नारासहित पोखरा महानगरपालिका–५ कार्यालयले दीपावलीको अवसरमा आयोजना गरेको ‘प्रथम वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता’को आज समापन गर्दैै उहाँले विगतका सरकारले खेल क्षेत्रलाई प्राथमिकता नदिँदा देशको खेलकूद पछाडि परे पनि अहिले सरकारले खेल क्षेत्रबाट समृद्धि चाहेको उल्लेख गर्नुभयो ।

मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका साथसाथै खेलकूदबाट समेत देशको समृद्धि सम्भव भएकाले खेलकूद विकासका लागि देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला र ७५३ पालिकामा खेलग्राम निर्माण गर्ने योजनाका साथ सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

विगतमा शारीरिक परिश्रमबाट व्यायाम प्राप्त भए पनि पछिल्लो समय युवापुस्तामा व्यायामको कमी हुँदा मधुमेह, उच्च रक्तचापलगायतका समस्याका बिरामीको सङ्ख्या बढेकाले बिहान÷बेलुका खेलकूदमा ध्यान दिनसमेत मन्त्री विश्वकर्माले आग्रह गर्नुभयो ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई भव्य बनाउने योजनाका साथ सरकारले तयारी गरिरहेको बताउँदै सागको आयोजनास्थल पोखरासमेत भएकाले पोखरेलीको लागि गौरवको विषय रहेको उहाँको भनाइ थियो । यही कात्तिक ८ गतेदेखि शुरु भएको प्रतियोगितामा कृष्णबहादुर खत्री र केशव कोइरालाको जोडीले प्रथम स्थान हासिल गरेको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो ।

त्यसैगरी विष्णुप्रसाद बराल र जीतबहादुर कुँवरको जोडी द्वितीय हुन सफल भयो । विजयी खेलाडीलाई मन्त्री विश्वकर्माले पुरस्कार वितरण गर्नुभयो । सूर्यचन्द्र विकास समाजको व्यवस्थापनमा भएको प्रतियोगितामा १३ टिमको सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -