स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

डेंगु रोग नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’

डेंगू - डेङ्गुको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण - Dengue virus - The Time of Nepal
सेयर गर्नुहोस

काभ्रेपलाञ्चोक, २९ भदौ : जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ ।

विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग नियन्त्रण नभएसम्म रमाना नदिन मातहतका स्थानीय तहका स्वास्थ्य शाखालाई परिपत्र गरेको हो ।

“डेंगु रोग नियन्त्रण गर्न सहज हुने तथा स्वास्थ्यकर्मी एक अर्को जिल्लामा आवतजावत गर्दा डेंगु रोगसमेत जाने–आउने खतरा बढ्न सक्ने भएकाले समायोजनमा जान पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेत रमाना नदिन परिपत्र गरेका हौँ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो ।

मन्त्रालयले काठमाडाँै उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगु रोगको प्रकोप देखिँदै गएकाले देशका विभिन्न तहमा समायोजन भई पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मी तथा केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म यथावत राख्न यही भदौ २५ गते केन्द्रीय, प्रदेश, जिल्लास्थित सरोकारवाला निकायलाई पत्राचार गरेको थियो । साथै, प्रसूति बिदा, अध्ययन बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले आदेश गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा भदौको दोस्रो साताबाट डेंगु रोगको सङ्क्रमण देखिएको हो । खानीखोला गाउँपालिकामा डेंगुबाट सङ्क्रमित एक पुरुष भेटिएसँगै हालसम्म जिल्लाका छ डेंगु सङ्क्रमितले उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चारको टेकु अस्पताल र दुईको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

खानीखोलाका सङ्क्रमित एक पुरुष कामको सिलसिलामा हेटौँडालगायत तराईका विभिन्न जिल्लामा आवतजावत गर्ने क्रममा डेंगु रोगको लक्षण देखिएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्नु, पेट दुख्नु, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखा पर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।

जिल्लामा डेंगु सङ्क्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेंगु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गर्दै आएको छ । “डेंगु रोगको सङ्क्रमण देखिएलगत्तै जिल्लाका १३ वटै स्थानीय तहमा ‘¥यापिड टिम’ खडा गरिसकिएको छ”, कार्यालय प्रमुख डा झाले भन्नुभयो । उहाँका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेंगु विरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।– राजकुमार पराजुली

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -