स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

‘परम्परागत सेवा प्रवाहले जनआकाङ्क्षा पूरा गर्दैन’

मुख्यमन्त्री गुरुङ
सेयर गर्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले परम्परागत सेवा प्रवाहले जनआकाङ्क्षा पूरा गर्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समयको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

परिवर्तित संरचनाअनुसार देश तीन तहमा संरचित भएको र कर्मचारीको कार्यशैली पनि सोहीरुपमा परिवर्तन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घ सरकारले कर्मचारीलाई खटाउँदा जिम्मेवारी बोध गराउन नसक्नु गल्ती भएको बताउँदै उहाँले केन्द्रिकृत व्यवस्थालाई परिवर्तन हुँदै देश सङ्घीयतामा गए पनि त्यसअनुरुप कर्मचारीलाई प्रशिक्षित नगर्दा सेवा प्रवाहमा असर परिरहेको बताउनुभयो ।

प्रदेश लोकसेवा आयोग विधियेक पारित भइसकेकाले अब आफ्नो मातहतका कर्मचारी, यसको सेवा सुविधा र कामको संरचनामा केही नयाँपन आउने उहाँले बताउनुभयो । राज्यको नीति, योजना र कानूनको सफल कार्यान्वयन गराउन राजनीतिक नेतृत्वसँगै कर्मचारीको महत्वपूर्ण भूमिका हुने उहाँको धारणा छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको मर्म र भावना अनुकूल कर्मचारीले सेवा दिन सक्नुपर्ने बताउँदै संविधानले जनतालाई सबैभन्दा उच्च पदमा राखेकाले कर्मचारीको जनताप्रतिको सेवा प्रवाह सोहीअनुसार हुनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्यालले राजनीतिक नेतृत्वले गर्ने निर्णयको कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय निजामती क्षेत्र भएकाले सोहीअनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ट्रेड युनियन सम्बद्ध नेताले हालको निजामती सेवा विधेयकले निजामती कर्मचारीका अधिकार धेरै कटौती गरिएको भन्दै यसमा संशोधन गर्न माग गर्नुभयो ।

नेपालमा २०१३ सालमा निजामती जङ्गी ऐन लागू भएको दिन भदौ २२ गतेलाई निजामती दिवसका रुपमा मनाइँदै आइएको छ । यस वर्ष पनि सक्षम ‘निजामती प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -