स्वागतम्,
Saturday 27th April 2024   |   Switch to English
Times of Nepal

दिक्तेलबजार व्यवस्थित गर्न पहल

सेयर गर्नुहोस

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलबजारलाई केन्द्रित गर्दै अनुगमन तीव्र बनाएको हो ।

पछिल्लो समय उपभोक्ता हित संरक्षण तथा सडक व्यवस्थापनलाई मध्यनजर गर्दै दिक्तेलबजारमा निरन्तर अनुगमन भइरहेको छ । नगरपालिकाले गठन गरेको आधिकारिक अनुगमन टोलीले शुक्रबार अनुगमन गर्दै दिक्तेलबाजारभित्र पर्ने सडक किनारमा राखिएका निर्माण सामग्री तत्कालै हटाउन सुझाव दिएका छन् ।

सडक किनारमा यत्रतत्र राखिएका निर्माण सामग्री, सवारीसाधन तथा बिक्री प्रयोजनका लागि राखिएका सामग्रीका कारण बजार अस्तव्यस्त बनेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजार हाल निर्माणको चरणमा भएको कारण त्यस्तो अवस्था भएको बजारवासीले बताएका छन् ।

बजारमा अधिकांश पुराना घर भत्काएर हाल नयाँ संरचनाका घर बनाउने क्रम बढेको छ । पटक–पटक सुझाव दिँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी निर्माण सामग्री तथा सवारीसाधन जथाभावी राख्ने गरेका कारण कठोर बनेर नियमानुसार कारवाहीमा उत्रने अवस्था आएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभएको छ ।

नियम तथा मापदण्डविपरीत सडकमा राखिएका त्यस्ता सामग्रीहरु एक साताभित्र व्यवस्थापन गर्न अर्थात सडकबाट हटाउन निर्देशन गरिएको अनुगमन टोलीका संयोजक सीताराम खतिवडाले बताउनुभयो । उपप्रमुख विणादेवी राई संयोजकत्वमा रहने उपभोक्ता हित संरक्षण समितिअन्तर्गत गठित अनुगमन टोलीले नगरभित्रका बजारमा निरन्तर अनुगमन गर्ने जनाएको छ ।

नगरपालिकाले बजार अनुगमन निर्देशिका २०७५ तयार गरेर बजार व्यवस्थापन तथा उपभोक्ताको हितमा नियमित बजार अनुगमन शुरु गरेको छ । नगरपालिकाका बजार अनुगमन शाखाका प्रमुखको संयोजकत्वमा गठित अनुगमन टोलीमा सम्बन्धित विषयगत क्षेत्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षणमा क्रियाशील संस्था, उद्योग वाणिज्य सङ्घ र पत्रकार महासङ्घको प्रतिनिधि छन् ।

अनुगमन टोलीले अघिल्लो दिन दैनिक उपभोग्यवस्तु राखिएको पसलहरु अनुगमन गरेको थियो । टोलीले बिक्रेता अर्थात् सेवाप्रदायक निकायबाट कानूनबमोजिम प्रदान गरिने कागजात, सो कागजातको नवीकरण, व्यवसाय दर्ता तथा साइनबोर्ड, मूल्यसूची, परिमाण तथा मूल्य, गुणस्तर तथा नापतौल, प्याकेजिङ, खुद्रा तथा थोक मूल्यलगायतका विषयमा अनुगमन गरेर नियमन गराइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -