स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बगनासकालीलाई खरको छानोरहित बनाइँदै

खरको छानो - the times of nepal
सेयर गर्नुहोस

–सुशिला रेग्मी

पाल्पाको बगनासकाली गाउँपालिकालाई अबको चार महीनाभित्र खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना छ ।

उक्त अभियानअन्तर्गत गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले रु ३९ लाख विनियोजन गरेको छ । आव २०७५÷७६ मा रु २५ लाखको लागतमा ८३ धरमा तथा आव २०७४÷७५ मा रु १५ लाखको लागतमा ५३ धरमा जस्तापाता लगाउने काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो ।

“गाउँपालिकालाई आगामी मङ्सीरभित्रमा खरको छानोरहित बनाउन धमाधम काम अगाडि बढाइएको छ, आर्थिक अवस्था कमजोर भएकाले गाउँपालिका आफैले जस्तापाताको छानो हाल्न थालेको हो”, उहाँले भन्नुभयो । बगनासकाली गाउँपालिकालाई जिल्लाकै नमूना छानोरहित गाउँपालिका बनाइने योजना छ ।

यस्तै गाउँपालिकाले चैत मसान्तभित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । बालमैत्री घोषणा कार्यक्रमका लागि समानीकरणतर्फ रु एक करोड बजेट प्राप्त भएको अध्यक्ष बस्यालले बताउनुभयो । बालमैत्री घोषणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा रकम खर्च गरिनेछ । चालू आवमै घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्दै ‘शून्य होमडेलीभरी’ घोषणा गरिने बस्यालले बताउनुभयो । “असी प्रतिशत काम सम्पन्न भएको छ”, उहाँले भन्नुभयो ।

युवालाई गाउँमै स्वरोजगारको अवसर सिर्जना गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलाई चालू आवमा निरन्तरता दिइएको छ । स्नातक तह उत्तिर्ण गरेका युवालाई लक्ष्य गरी सञ्चालन गरिएको कार्यक्रमबाट स्थानीय युवा कृषि तथा पशुपालन व्यवसायतर्फ आकर्षित भएका छन् । दुई वर्षमा सात युवाले शैक्षिक प्रमाण पत्र धितो राखेर कृषि तथा पशुपालन व्यवसाय थालेका छन् । गाउँपालिकाले पाँच हजार किलोभन्दा बढी तरकारी उत्पादन गर्ने कृषकलाई तरकारीमा ढुवानी अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

स्थानीय बजारमा तरकारी बिक्री नभए अन्यत्र बजारमा लैजान ढुवानी उपलब्ध गराएको छ । गाउँपालिकाले प्रतिकिलो दुई रुपैयाँ तरकारी ढुवानीका लागी अनुदान दिँदै आएको छ । मागमा आधारित कृषकलाई अनुदान तथा विभिन्न क्षेत्रमा उत्पादनको आधारमा २० पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम लागू गरिएको छ । गत आवमा २२ किलोमिटर सडकको स्तरोन्नति, आठ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण, ५६३ मिटर सडक ढलान र खानेपानीको सहज सुविधा उपलब्ध गराउन ११ ट्याङ्की निर्माण गरिएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र शैक्षिक गुणस्तर वृद्धि गर्न १० सामुदायिक विद्यालयमा ई हाजिरी सेवा, खानेपानी विद्युत् महसुलमा ४० प्रतिशत अनुदान, नौवटै वडामा विपद् व्यवस्थापन समिति गठन, मधुमेह, रक्तचाप र छारे रोगका लागि निःशुल्क औषधि उपचार सेवालाई निरन्तरता दिइएको छ । आधारभूत तहसम्म स्थानीय पाठ्यक्रम लागू गर्न कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागूगर्ने गरी काम अगाडि बढाइएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ रु ९४ लाख २० हजार, सामाजिक विकासतर्फ रु तीन करोड ३८ लाख, पूर्वाधार विकासतर्फ रु तीन करोड ६७ लाख, संस्थागत विकासतर्फ रु ७७ लाख ९४ हजार तथा वातावरण र विपत् व्यवस्थापनतर्फ रु २४ लाख ७० हजार रकम विनियोजन गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -