स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

किसानले अवैध रुपमा लगाएको तीन हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

सेयर गर्नुहोस

गोरखा नगरपालिका–४ पीपलथोकमा किसानले अवैध रुपमा लगाइएको तीन हजार गाँजाको बोटलाई प्रहरीले नष्ट गरेको छ ।

सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी उपरीक्षक ओम अधिकारीको नेतृत्वमा खटिएको टोलीले आज बिहान ती परिमाणको गाँजाको बोट नष्ट गरेको हो ।

लागूऔषध विरुद्धको प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फँडानीको काम शुरु गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । “हामीलाई त्यस क्षेत्रमा गाँजा छ भन्ने जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यही आधारमा गएर अनुसन्धान गर्दा गाँजा रहेको पाइएपछि प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।”

लागू औषध विरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीय समेतलाई सहभागी गराएर अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “हामीले स्थानीय समुदायलाई आफैँलाई समेत गाँजा खेती गरेको भए नष्ट गर्नसमेत भनेका छौँ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो ।

फँडानी गरिएको गाँजालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उहाँले जानकारी दिनुभयो । “अब यसलाई केही दिन सुक्न दिएर प्रहरी कार्यालयमा जलाएर नष्ट गर्छौं”, उहाँले भन्नुभयो । उहाँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषध विरुद्धको कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजा खेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताउनुभयो । “पहिलो चरणमा हामी आफैँ आएर फँडानी गरेका छाँै, अब आफैँले फँडानी गरेर नष्ट गरी हामीलाई जानकारी नगरे कारवाहीसमेत शुरु हुन्छ”, प्रहरी उपरीक्षक अधिकारीको भनाइ छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -