स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

बाढीपीडितको उद्धार र राहतमा तीव्रता

डुवानमा परेकाको उद्वार
सेयर गर्नुहोस

वर्षासँगै सिरहा सदरमुकामसहित गाउँ गाउँमा बाढीको कहर जारी रहँदा स्थानीय प्रशासनले विभिन्न निकायसँग समन्वय गरी आजदेखि उद्धार र राहतको कार्यलाई तीव्र बनाएको छ ।

आज बिहानदेखि वर्षा रोकिएपछि बाढीबाट बढी प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार र राहतसहितको टोली परिचालन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताउनुभयो ।

वर्षा रोकिएको र बस्तीमा पनि पानीको सतह केही घटेकाले विभिन्न सङ्घसंस्था तथा निकायसँग समन्वय गरी उद्धार र राहतको टोलीलाई बाढी प्रभावित बस्तीमा पठाइएको हो । यस्तै बाढीबाट प्रभावित क्षेत्रमा औषधिसहितको चिकित्सकको टोली पनि पठाइएको छ भने बाढीमा पसेकाको उद्धारका लागि बस्तीमा सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढी बस्ती पस्दा सदरमुकाम सिरहासहित सिरहा नगरपालिकाका विभिन्न वडा तथा कल्याणपुर नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, सुखीपुर नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् ।

कमला सिँचाइ आयोजनाले सिँचाइका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीँबाट कमला नदीको बाढी गाउँमा पसेपछि सिरहा नगरपालिका– ६ बसबिट्टा, वडा नं १२ सारस्वर, सदरमुकाम सिरहा बजार, कल्याणपुर नगरपालिकाको कल्याणपुर नगरपालिका– १२ गम्हरियाकट्टीलगायत गाउँ बढी प्रभावित भएका छन् । ती बस्ती नै डुबानमा परेपछि त्यहाँका ५०० घर परिवार विस्थापित भएका छन् ।

बस्तीका अधिकांश घर डुबानमा परेको र बाढीका कारण सडकसमेत भत्किएकाले उद्धार र राहत वितरणमा समस्या भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । यस्तै सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोलका ८० घरपरिवार बिस्थापित भएर सुरक्षित स्थानमा शरण लिन बाध्य भएका छन् । बस्तीमा करीब पाँच फिटसम्म पानी बग्न थालेपछि बस्तीका सबैलाई उद्धार गरी सुरक्षितरुपमा विद्यालयमा सारिएको छ । त्यस्तै भवारा नहरको पानी बस्तीमा पसेपछि सिरहाको लहान नगरपालिका– १ र २ मिलनचोकस्थित दलित बस्तीका ५० घरपरिवार विस्थापित भएका छन् ।

बस्ती डुबानमा परेपछि सुरक्षाकर्मीले स्थानीयलाई उद्धार गरी सुरक्षित लहानको सिंगराही मटियार्वास्थित आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको प्रअिज अधिकारीको भनाइ छ । लगातारको अविरल वर्षाले कमला, बलानलगायतका नदीमा जलस्तर अझै बढ्ने खतरा रहेकाले नदी आसपासका आम सर्वसाधारणमा अलर्ट जारी गरिएको छ भने सम्भावित खतरालाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई पनि अलर्ट रहन निर्देशन दिइसकेको छ ।

अविरल वर्षा र बाढीबाट पीडित सिरहाको लहान नगरपालिका वडा नं १ र २ का ३० घरपरिवारलाई आज लायन्स क्लब लहानले राहत वितरण गरेको छ । लहानस्थित भावारा नहरको बाँध भत्किएर डुबानमा परेर विचल्ली परेका दुवै वडाका ३० परिवारलाई लायन्स क्लबले प्रतिपरिवारमा २५ किलो चामल वितरण गरेको हो ।

नहरको बाँध भत्किएपछि ती दुवै वडाका दलित बस्ती विस्थापित भई लहानको सिंगराही मटियर्वास्थित जनता आधारभूत विद्यालयमा बस्दै आएका छन् । यस्तै बाढीबाट सो ३० परिवारलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले पीडितलाई लगाउने लुगा, खाद्यान्न तथा पानी वितरण गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -