स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

दिपज्योतिमा सुमीका गजल

सेयर गर्नुहोस
प्रत्येक महिनाको चौंथो शनिबार शब्दरहर बारका रुपमा मनाउँदै आएको शब्दरहर साहित्य अभियानले आफ्नो ५०औं अङ्कमा नुवाकोट जिल्लाकी सक्रिय गजलकार एवं कवि सुमित्रा सुमीलाई अतिथि कविका रूपमा आफ्नो मञ्चमा उभ्याएको छ। हरेक शृङ्खलामा अतिथि सर्जक केवल मोफसलमा रही सिर्जना कर्ममा अविराम समर्पित व्यक्तित्वलाई मात्र बनाउने वैशिष्ट्य कायम गरेको संस्थाका अध्यक्ष जीत अधिकारीले बताए । ५०औं शृङ्खलाको दैलो उघार्दै आमाको सम्झनामा सुमी यसरी गुञ्जिइन् –

आमा हुन् प्रेमकी खानी, आमा हुन् सत्य सुन्दरी
आमाकै ममताबाट चुलिन्छ अमरापुरी ।

देऊ आशिष ए ! आमा देशकै निम्ति मर्दछु
नझार आँसु ती तिम्रा मुटुमा स्नेह भर्दछु ।


यही कविता लगायत सुमीले एक दर्जन बेसी कविता, गजल र मुक्तक सुनाएर उपस्थित स्रष्टाहरूलाई मन्त्रमुग्ध पारिन् । सुमीका ‘एक्लो कुसुम ‘ , ‘नदेखिएका स्वप्नहरू’ एकल कृतिहरू तथा गजल यात्रा, नुवाकोटको गजलमाला, कविता यात्रामा नुवाकोट, वागमतीका नारी लहरहरू, हाँस्छु भन्थेँ जिन्दगीमा रूवाउने प्यार भयो लगायत संयुक्त कृतिहरू प्रकाशित भइसकेका छन् । साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमी राष्ट्रिय गौरव,काव्यघर, हाम्रो मझेरी जस्ता साहित्य सम्मान लगायत पल्लव साहित्य सम्मान, क्रान्तिधरा मेरठ साहित्य सम्मान गरी आधा दर्जन बढी साहित्य सम्मानबाट विभूषित भइसकेकी छिन् ।

सो कार्यक्रममा शम्भु गजुरेल, वासुदेव ठकुरी, विनोद खत्री, नरेश खड्का, घनश्याम मुडभरी, एलिसा एकलास,यात्री प्रकाश पाण्डे, गीता पुडासैनी, ॠषिराम पाण्डेय,डेभिड ढकाल, कृष्णदेव रिमाल, उत्तम विचार, गङ्गा आचार्य, धरणीधर गुरागाईं, लव खड्का , उदास कार्की, भैरवी भूगोल, जीत अधिकारीलगायत २ दर्जन स्रष्टाहरूले आआफ्ना सिर्जना सुनाए । कार्यक्रममा बोल्दै अतिथि एवं मूर्धन्य साहित्यकार श्रीहरि फुयाँलले सुमित्रा सुमीको व्यक्तित्व बारे प्रकाश पारे । उक्त कार्यक्रममा सुमी सम्पूर्ण स्रष्टालाई अभियन्ता माधव घिमिरे ‘अटल ‘ले स्वागत गरे भने उत्तम विचारले कार्यक्रमको सहजीकरण गरे । अभियानकी उपाध्यक्ष भैरवी भूगोलले अर्को कार्यक्रम आगामी श्रावणको चौंथो शनिबार हास्य व्यङ्ग्यात्मक रचना सहित आयोजना हुने जानकारी दिइन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -