स्वागतम्,
Tuesday 19th March 2024   |   Switch to English
Times of Nepal

साहित्यिक पत्रिका झोलामा बोकेर कति बाँड्ने ?

education,book,Literature,sahitya - The Times Of Nepal
सेयर गर्नुहोस

साहित्यिक पत्रिको स्थायित्वका लागि के गर्ने ? निजी खर्चमा पत्रिका निकालेर झोलामा बोकेर निःशुल्क बाँड्नुपर्ने अवस्थाको अन्त्य कसरी होला ? साहित्यिक पत्रकारका सधैँ उस्तै प्रकारको गुनासा र पीडा सुन्ने गरिएकामा अब त्यस्ता विधागत पत्रिका पहिला आफू व्यावसायिक हुनुपर्ने र त्यसपछि सरकारबाट न्यायोचित सुविधाप्राप्तिका लागि लड्नुपर्नेमा जोड दिइएको छ ।

विसं १९५५ मा पण्डित नरदेव मोतिकृष्ण शर्माको सम्पादकत्वमा पाशुपत प्रेसमा मुद्रित ‘सुधासागर’ साहित्यिक पत्रिका नेपालको पहिलो पत्रिका मानिन्छ । ‘सुधासागर’ प्रकाशनको तीन वर्षपछि विसं १९५८ पहिलो अखबार गोरखापत्रको प्रकाशन शुरु भएको थियो । त्यसअघि विसं १९४३ मा भारतको वनारसबाट मोतीराम भट्टको सहयोगमा बाबुरामकृष्ण वर्माले ‘गोर्खा भारत जीवन¬’ प्रकाशन गर्नुभएको पाइन्छ ।

मूलधारका पत्रकारिताको विकास र सूचना प्रविधिको व्यापकतासँगै परम्परागत साहित्यिक पत्रिका सकीनसकी निस्किरहेका छन् भने कतिपय बन्द हुनेक्रम पनि चल्दै आएको छ । सरकारी स्वामित्वका साहित्यिक पत्रिकाबाहेक अधिकांश साहित्यिक पत्रिका सङ्कटमा छन् ।

लामो समयदेखि सेवा भावले साहित्यिक पत्रिका प्रकाशनरत ‘रचना¬’ र ‘अभिव्यक्ति’ का सम्पादक रोचक घिमिरे र नगेन्द्रराज शर्माले नयाँ पुस्ताले व्यावसायिक सोचका साथ साहित्यिक पत्रकारिता गरेमा इतिहासको बिँडो थामिने बताउनुभयो । नेपालमा पत्रकारिताको थालनी साहित्यिक पत्रिका ‘सुधार सागर’ बाट भए पनि हाल यस क्षेत्रले उपेक्षा भोगेको र सरकारले मूलधारका पत्रिकालाई जस्तै कर्मचारी नियुक्ति र तलब दिएको निस्सा दिएपछि मात्रै वर्गीकरणमा राख्ने नीति लिनुले चिन्तित तुल्याएको उहाँहरुको गुनासो थियो । शर्मा नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष र घिमिरे निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

शमी साहित्य प्रतिष्ठानले आज आयोजना गरेको ‘साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार’ विषयको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सम्पादक घिमिरेले भन्नुभयो, “नेपालका राजनीतिक परिवर्तनमा पनि योगदान गरेको साहित्यिक पत्रकारितालाई राज्यले उपेक्षा गर्न मिल्दैन । साहित्यिक पत्रकारिताले जहिले पनि समाजमा चेतना वृद्धि गरिरहेको छ तर यस्ता पत्रिकालाई वितरणका लागि विश्वसनीय निकाय र संयन्त्रको अभाव खड्किएको छ ।”

उक्त गुनासो सुनेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले साहित्यिक पत्रकारले पनि अनुदान होइन अधिकार हो भन्ने खोज्नुपर्ने स्थिति सिर्जनाका लागि कानूनी व्यवस्था परिवर्तन गर्न सहयोग गर्ने वचन दिनुभयो ।

शमी साहित्य प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री प्रदीप नेपालले प्रतिष्ठानले जोखिम मोलेर ‘शमी’ साहित्य मासिक पत्रिका निकाल्ने तयारी गरिएको जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्यम लेकालीले साहित्यिक पत्रिकालाई अन्याय जारी रहेका दबाबमूलक कार्यक्रम पनि पछि हट्न नहुनेमा जोड दिनुभयो । ‘कलाश्री’ पत्रिकाका सम्पादक मोमिलाले ठूला व्यावसायिक संस्थाले मुनाफाको पाँच प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीति रहेको स्थितिमा साहित्यिक पत्रकारिता क्षेत्रलाई सामाजिक उत्तरदायित्वमा पार्न लाग्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मीधर गुरागाईंले अखबारी पत्रकारिताको दृष्टिमा सौतेनी व्यवहार भएकाले पुराना साहित्यिक पत्रिका पनि घिसिपिटी गरेर बामे सरिरहेको स्थितिमा ‘शमी’ पत्रिका नयाँ स्वरुपमा आउने जनाउनुभयो ।

गोष्ठीमा प्राज्ञ माया ठकुरी, राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेत, ‘जनमत’ मासिकका सम्पादक मोहन दुवाल, प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि सन्ध्या पहाडी, स्रष्टा हिरण्यकुमारी पाठक, ठाकुर बेल्वासे, माधव पोखरेल ‘गोज्याङ्ग्रे’, गोपल अश्कलगायतले साहित्यिक पत्रकारितामा व्यावसायिकता र समयसापेक्षता हुनुपर्ने सुझाव दिनुभयो ।

‘शमी¬’ मासिकले आफ्नो पहिलो अङ्कलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी विशेषाङ्क बनाउने घोषणा गरेको छ (रासस)

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -