स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

पौडेलको निधन सम्बन्धमा छानबिन प्रक्रिया अघि बढेको छः गृहमन्त्री

सेयर गर्नुहोस

गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचाररहित समतामूलक समाज निर्माण गर्न सरकारले ७५१ स्थानमा सामुदायिक प्रहरी सङ्गठन विस्तार गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ माथि सांसदले उठाएका प्रश्न र जिज्ञासामा मन्त्री थापाले मुलुकको शान्ति सुरक्षा, नागरिकको जिउधनको रक्षा र सीमा सुरक्षा गर्न सरकार सक्षम रहेको बताउनुभयो । समाजमा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण गर्न, हत्याहिंसा, बलात्कार तथा मानव बेचबिखनजस्ता आपराधिक घटना रोकथाम गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सजग र सक्षम रहेको उहाँले स्पष्ट गर्नुभयो ।
गृहमन्त्री थापाले अपराध नियन्त्रणमा सरकार क्रियाशील रहेको बताउँदै यस अवधिमा तस्करीको जालो तोडिएको, सुन ओसारपसारमा नियन्त्रण भएको र यातायात क्षेत्रमा भएको एकाधिकार तोडिएको बताउनुभयो ।
उहाँले प्राकृतिक प्रकोप व्यवस्थापन गर्न गृहप्रशासन २४ घण्टा तयारीमा रहेको बताउँदै चालु आर्थिक वर्षको बजेटले मुलुकको विभिन्न संवेदनशील क्षेत्र एवं सिंहदरबारमा अत्याधुनिक सिसिटिभी क्यामरा जडानका लागि बजेटमा व्यवस्था भएको बताउनुभयो ।
लागुऔषध तथा अपराध नियन्त्रण एवं शान्तिसुरक्षालाई थप सुदृढीकरण गरी हिंसारहित समतामूलक समाज निर्माणमा गृहमन्त्रालय क्रियाशील रहेको उहाँले बताउनुभयो ।
उहाँले तराईका विभिन्न नाकामा अत्याधुनिक क्यामेरा जडान, प्रहरीचौकीको पुनःस्थापना तथा नयाँ स्थापना, कारागार सुधार तथा निर्माण, राष्ट्रिय परिचयपत्र वितरण तथा अभिलेखीकरणका लागि सरकारले बजेट व्यवस्था गरेको बताउनुभयो । मन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउने प्रयास नरोकिएको तथा सर्लाही घटनामा मृत्यु भएका कुमार पौडेलको निधन सम्बन्धमा छानबिन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

सदनमा सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिलेन्द्रप्रसाद बडु र रेनुका गुरुङले मुलुकको शान्ति सुरक्षाको अवस्था, पन्तको हत्यारा पत्ता लगाउन गरिएको प्रयासका बारेमा गृहमन्त्रीसंँग जिज्ञासा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार १० गते बिहान ११ बजे बस्ने छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -