स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

शहीद स्मृति विद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

सेयर गर्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन गर्नुभएको छ । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको उक्त विद्यालयको उहाँले आज अनुगमन गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले शान्ति सम्झौतापछि द्वन्द्वपीडितका छोराछोरीलाई शिक्षा दिन सञ्चालन गरिएका यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गरिने बताउनुभयो । “देशभर रहेका यस्ता विद्यालयको मैले अनुगमन गरेको छु”, उहाँले भन्नुभयो, “द्वन्द्वपीडित विद्यार्थी पढ्ने यस्ता विद्यालयलाई केन्द्रीय विद्यालयका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

यी विद्यालयलाई शान्ति प्रक्रियापछि सञ्चालन हुने क्रममा संस्थागत विद्यालयका रुपमा दर्ता गर्दा यी विद्यालयलाई सामुदायिक विद्यालय सरह सुविधा दिन नसकिएको उहाँको भनाइ छ । उहाँले आवासीय रुपमा सञ्चालनमा आएका यस्ता विद्यालयलाई सीमित स्रोत, साधनबाट पनि सञ्चालन गर्नु राम्रो पक्ष भएकाले विद्यालयको स्तरवृद्धिका लागि पहल भइरहेको समेत बताउनुभयो ।

मन्त्री पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधिलाई उत्पादन शक्तिका रुपमा जोड्नुका साथै व्यवहारिक कार्यान्वयनको मार्गमा सरकार अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले अवको शिक्षा प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । “अब कक्षा १२ को पढाइसकेपछि विद्यार्थीले सीप सिक्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिले ८० प्रतिशत विद्यार्थीले साधारण शिक्षा र २० प्रतिशतले मात्रै प्राविधिक शिक्षा लिएका छन्, यो अनुपातलाई ठीक उल्टो बनाउनुपर्छ ।”

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालयमा पूर्वाधार अभाव हुँदा पठनपाठनसँगै विद्यार्थीको आवासीय सेवामासमेत समस्या हुने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक धनेश्वर पोखरेलले बताउनुभयो ।

उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्माले अहिले विद्यालयमा द्वन्द्वपीडितका छात्रछात्रा कक्षा १२ सम्म पढ्ने गरेका छन् । त्यसपछि भने आर्थिक अभाव हुँदा उनीहरु माथिल्लो तहमा पढ्न पाएका छैनन् । त्यसैले उनीहरुको माथिल्लो तहको पढाइ निःशुल्क पठनपाठनका लागि माथिल्लोस्तरको कक्षा सञ्चालन गर्नुपर्ने समेत उहाँको माग थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -