स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

पौडेलको पार्थिव शरीरमा अध्यक्ष दाहालले झण्डा ओढाए, प्रवक्ता परिवारका सदस्यले दागवत्ती दिएर अन्त्येष्ठी

सेयर गर्नुहोस

पूर्व शिक्षामन्त्री धनीराम पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । माडीको बघौडा अस्पताल अगाडि आज उहाँको शरीरमा दाहालसहितका नेताले झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

पौडेलको आजै माडी नगरपालिका–५ मा रहेको मगुई खोलामा अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा पौडेलका धर्मपत्नी गङ्गा बेलवासे, छोरीहरु जागृति र आकृति पौडेलसँगै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दागबत्ती दिनुभएको नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता अमिक शेरचन, बामदेव गौतम, शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, नेकपाका प्रमुख सचेतक देव गुरुङ्, नेकपा प्रदेश नं– ३ का अध्यक्ष नारायण दाहाल, प्रदेश नं– ३ का आर्थिक मामिला तथा कानूनमन्त्री शालिग्राम जम्मकट्टेल, प्रदेशका सांसद, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगर प्रमुख ठाकुर ढकाल लगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

श्रद्धाञ्जलिका क्रममा नेकपाका अध्यक्ष दाहालद्वारा जारी शोक विज्ञप्ति वाचन गरेर सुनाइएको थियो । विज्ञप्तिमा पौडेलको निधनले सिङ्गो पार्टी र देशमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।

श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा नेता कार्यकर्ता माडी पुगेका थिए । आज बिहान ७ बजे पौडेलको हृदयघातबाट निधन भएको हो । उहाँको निधनले माडी क्षेत्र शोकमा डुबेको छ ।

बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट विसं २०२२ कात्तिक ४ गते तत्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिनु भएका पौडेल विसं २०३७ देखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय रहनुभएको थियो ।

मोहनविक्रम सिंह र निर्मल लामाले नेतृत्व गरेका नेकपा चौंथो महाधिवेशनको विद्यार्थी सङ्गठनको कार्यकर्ताबाट राजनीति शुरु गर्नु भएका पौडेल विसं २०३९ मा विद्यार्थी सङ्गठनको चितवन जिल्ला सदस्य, विसं २०४१ मा केन्द्रीय सदस्य हुँदै विसं २०५१ मा तात्कालीन नेकपा एकता केन्द्र विभाजनपछि अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय संयोजकसमेत चुनिनुभएका नेकपा नेता ईश्वरी भट्टराईले जानकारी दिनुभयो ।

दोस्रो संविधानसभामा उहाँ निर्वाचित हुनुभएको थियो । सोही समयमा अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले शिक्षा मन्त्रालयका जिम्मा पाउनुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -