स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

लागुपदार्थ दुव्र्यसन र ओसारपसार रोक्न साझा पहलकदमी आवश्यक

drugs
सेयर गर्नुहोस

बर्दिवास, १६ जेठ : लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसारसँगै जोडिएर घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको निष्कर्ष महोत्तरीको बर्दिवासमा निकालिएको छ । नेपाल प्रहरी श्रीमती सङ्घ तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौँको आयोजनामा बुधबार बर्दिवासमा सम्पन्न लागुऔषध, घरेलु हिंसा र यौनजन्य हिंसाका कारण र त्यसको न्यूनीकरणका उपायबारे भएको छलफलमा यस्तो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले लागुपदार्थ दुव्र्यसनीका परिवारमा घरेलु हिंसा र यौनजन्य अपराध हुने गरेको अनुसन्धानले देखाएको बताउनुभयो । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म इलाका प्रहरी कार्यालय बर्दिवासले चलाएको लागुऔषध दुव्र्यसन र ओसारपसारसम्बन्धी मुद्दाका आरोपीहरु यसअघि नै घरमा रडाको मच्चाउने गरेका पाइएको छ । दुव्र्यसनीहरु आफ्नै सामाजिक परिवेशभित्र यौन अपराधमा पनि संलग्न पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनुभयो ।

कार्यक्रममा बर्दिवास क्षेत्रमा विद्यालयमा पढ्न जाने विद्यार्थी पनि लागुपदार्थको अम्मली बन्दै गरेका पाइएको छ । यस्ता अम्मलीले आफ्नै घरमा पैसा चोर्ने, अन्य समान बेचेर लागुपदार्थको पैसा तिर्ने गरेको पाइएको प्रनाउ थापाले बताउनुभयो । बर्दिवासमा चालू आवको पछिल्लो करिब ११ महीनामा लागुपदार्थ दुव्र्यसन र ओसारपसारमा संलग्न ३५ जनालाई पक्राउ गरिएर मुद्दा चलाइएको छ । यसबाहेक अम्मली बन्दै गएका ५० भन्दा बढी विद्यालयका विद्यार्थीलाई सचेत गराई परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
Narcotic Drugs Control Guidelines
बर्दिवास नगरक्षेत्रमा वर्षेनी लागुपदार्थ दुव्र्यसनी र यसको ओसारपसारमा संलग्न हुनेको सङ्ख्या बढ्दै गएसँगै यस्ताका घरमा चोरी, घरमा कुटपिट र झगडाका घटनासमेत बढेका छन् । यौनजन्य अपराधमा समेत दुव्र्यसनी संलग्न पाइएका प्रहरी अधिकारीको भनाइ छ । बर्दिवास नगरक्षेत्रमा चालू आवको हालसम्म लागुपदार्थ दुव्र्यसन र ओसारपसारसम्बन्धी २३ मुद्दा दर्ता भएका छन् । यसअघि गत आव २०७४/७५ मा १४ र त्यसअघिको आव २०७३/७४ मा छ मात्र मुद्दा दर्ता भएका थिए । यसपालि मात्र बर्दिवासमा २० लाखभन्दा बढी मूल्यका लागुपदार्थ बरामद भएका प्रहरीले जनाएको छ ।

कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अब लागुपदार्थ दुव्र्यसन र यसको ओसारपसार प्रहरीले मात्र नियन्त्रण गर्ने अवस्था नरहेको औँल्याउनुभयो । लागुुपदार्थ दुव्र्यसन र यसको ओसारपसार नियन्त्रणका लागि प्रहरी, स्थानीय तह, विद्यालय, सामाजिक सङ्घसंस्था र वडा नागरिकमञ्चसहितको संयुक्त पहलकदमी अपरिहार्य बनेको प्रमुख कार्कीको भनाइ थियो ।

बर्दिवास नगरक्षेत्रका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, माध्यमिक तहमा अध्ययनरत छात्रछात्रा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधि सम्मिलित कार्यक्रम नेपाल प्रहरी श्रीमती सङ्घकी केन्द्रीय महासचिव अनु पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुव्र्यसनको अखडा बन्दै गएको गुनासो बढेकै बीच बर्दिवासमै यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -