स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

मनोरञ्जनका लागि मात्र नभएर खेलकूदलाई स्वस्थ र दक्ष जनशक्ति तयार गर्ने रुपमा बुझ्न जरुरी : सभामुख महरा

सेयर गर्नुहोस

मनोरञ्जनका लागि मात्र नभएर खेलकूदलाई स्वस्थ र दक्ष जनशक्ति तयार गर्ने रुपमा बुझ्न जरुरी

धनगढी, १ चैत  : सभामुख कृष्णबहादुर महराले खेलकूदलाई अब मौलिक हकका रुपमा बुझ्न जरुरी भएको बताउनुभएको छ ।
आजदेखि यहाँ शुरु भएको प्रथम मुख्यमन्त्री कप अन्तर खेलकूद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले खेलकूद प्रतियोगिताको आयोजना अब केवल मनोरञ्जनका लागि मात्र नभएर यसले देशका लागि स्वस्थ र दक्ष जनशक्ति तयार गर्ने बताउनुभयो ।

संविधानको मर्मलाई सबैले आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई बलियो बनाउने पक्षमै हामी छौँ ।” संविधान कार्यान्वयनको अवस्थामा रहेकै अवस्थामा सङ्घीय व्यवस्थालाई असफल पार्न केही तत्व लागेको उल्लेख गर्नुहुँदै उहाँले संविधान विरोधी गतिविधि हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आवश्यक कानूनको अभावलगायतका समस्याले जनताले गरेको अपेक्षाअनुसारको काम गर्न ढिलाइ भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता र राष्ट्रलाई असफल पार्नका लागि भइरहेका षड्यन्त्रप्रति सचेत हुनुपर्ने बेला आएको छ ।”

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले चाहेको सुशासन, विकास र समृद्धिका लागि प्रदेश सरकार बलियो हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले सङ्घीय सरकारबाट ऐन कानून बनाउन भएको ढिलाइले प्रदेशमा काम गर्न अन्यौलता बढेको उल्लेख गर्नुभयो ।

समारोहमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले शुभकामना व्यक्त गर्नुभएको थियो । ‘स्वस्थ युवा, प्रदेशका खम्बा’ भन्ने मूलनाराका साथ आयोजित उक्त प्रतियोगितामा सातवटै प्रदेशका झण्डै ६४४ खेलाडीको सहभागिता छ । यही चैत ३ गतेसम्म हुने प्रतियोगितामा भलिबल, क्रिकेट, ब्याडमिन्टन र फुटबलका खेल हुन लागेको आयोजकले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -