स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सरकारका निर्णयको कार्यान्वयन गर्न मुख्यमन्त्रीको अनुरोध

province 3, nepal - dolmani poudel - the times of nepal
सेयर गर्नुहोस

हेटौँडा, २२ फागुन : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले गरेका हरेक निर्णयको निर्बाध कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित यातायात सेवाको नाम पञ्जीकृत गर्नेसम्बन्धी छलफल कार्यक्रममा उहाँले यातायात क्षेत्र व्यवस्थित हुनुपर्ने बताउनुभयो । यातायात क्षेत्र संवेदनशील भएकाले यसबारे सम्बन्धित सबै गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले सरकारले यातायात क्षेत्रको सुधारका लागि यातायातसँग सम्बन्धित सङ्घसंस्थालाई कम्पनीमा लानु परेको बताउनुभयो । उहाँले कम्पनीसम्बन्धी मौज्दात ऐनले यातायात कम्पनीलाई पूर्णरुपमा समेट्न नसक्ने हुँदा यो क्षेत्रलाई समेट्न अलग्गै कम्पनी ऐनको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष योगेन्द्र श्रेष्ठले लगानीकर्ता, मजदूर, सरकार र उपभोक्ता तहमा रहेका व्यक्तित्वले आफ्नो स्थानबाट सकारात्मक र प्रतिबद्ध भएर काम गर्ने हो भने यातायात क्षेत्रको समस्या पूर्णरुपमा समाधान हुने बताउनुभयो । उहाँले यातायातसँग सम्बन्धित सङ्घसंस्थालाई कम्पनीमा लान समस्या नभएको बताउनुभयो । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीले कम्पनी रजिष्ट्रारको कार्यालयले केन्द्रबाट मात्रै सेवा प्रवाह गर्ने गरेको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, प्रदेश प्रमुख सचिव आनन्दराज ढकाल, मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेलगायत यातायात क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । यातायात व्यवसायीले आफूहरु कम्पनीमा जान तयार भए पनि अझै धेरै समस्या बाँकी रहेकाले ढिलो भएको बताएका थिए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -