स्वागतम्,
Monday 29th April 2024   |   Switch to English
Times of Nepal

सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार

सेयर गर्नुहोस

धादिङ, १० पुस  : पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्र्णोद्धार गरेको छ ।

मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो । देवीदत्त गण गजुरीको ८० जनाको समूहले दुई दिन लगाएर सो गढीको मर्मत गरी जीर्णोद्धार गरेको नेपाली सेनाका सेनानी गौरव सिलवालले बताउनुभयो ।सेनाले ऐतिहासिक गढी, कोट संरक्षण र प्रवद्र्धन गर्न तथा एतिहासिक महत्वका यस्ता ठाउँ भावी पुस्ताका लागि सुरक्षित रख्न लागेको देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

सेन राज्य संरक्षण गर्न करीब दुई सयवर्ष पहिले निर्माण गरिएको गढीको भग्नावशेष मात्र फेला परेको र शिलालेख तथा अन्य ऐतिहासिक सामग्री गढीबाट केही वर्ष पहिलेदेखि हराएको गाउँवासीले बताएका छन् ।

पचासदेखि ६० व्यक्ति गढीभित्र बस्न मिल्ने र आफ्नो सुरक्षाको प्रबन्ध गर्नका लागि मुख्य गढी बनाइएको पाइन्छ । सँगै उत्तरपट्टी सहायक गढी भेटिएको छ । जीर्णोद्धारको क्रममा सेनाको टोलीले सहायक गढी पनि फेला पारेको थियो ।

पहिले गढी भएको सो क्षेत्रमा केही मानिसले मात्र खेती गरेका थिए । हाल गढीको भित्रपट्टिसमेत खेती गरेर गढी भत्काइएको अवस्था छ । सेनाले गढीसम्म जान तल चौकीदेखि गोरेटो बाटो निर्माण गरेको छ । गढीमा सूचना पाटीसमेत राखेर सफा पारिएको छ । भत्किएको पर्खाल लगाइएको छ । मुख्य गढीको पूर्वपट्टि रहेको बलि दिने मौलाको समेत सरसफाइ गरिएको छ ।

गढीको वरिपरि केहि सुरुङसमेत भेटिएको छ । यसको खोजी गरिएको छैन । केही सुरुङबाट तातो हावा आइरहन्छ । भग्नावशेष गढीको संरक्षण गर्न योजना बनाएर गाउँपालिकासमेत लाग्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो ।

चेपाङ बसोबास क्षेत्रमा रहेको कान्द्राङ्गढी पुथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर मलेखु–भण्डारा पर्यटकीय चेपाङ मार्गअन्तर्गत कच्ची सडक यात्रापछि पुगिन्छ । यो स्थान समुद्र सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -