स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइनेः मुख्यमन्त्री शाही

सेयर गर्नुहोस

दुल्लु, १९ मङ्सिर : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आज दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको छ, लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएको छ, अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्छ, कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्छ ।”

मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रत मार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै उक्त दु्रत मार्ग दैलेख हुँदै जानेमा विश्वस्त रहन सबैमा आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशको समृद्धिका आधार पर्यटन रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सम्भावनाहरुको खोजी भइरहेको बताउनुभयो । “दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकीयस्थल बन्दीपुर’ जस्तै बनाउनुपर्छ भनेका छौ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीको गरीबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको छ ।”

उहाँले समग्र कर्णालीको विकासका लागि तीनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी सङ्घसंस्थासँग सरकारले हातेमालो गर्ने बताउँदै गैरसरकारी सङ्घसंस्थाले होटलमा कार्यक्रम गरेर खर्च गर्ने रकम अब विकासका काममा लगाउन आग्रह गर्नुभयो ।

आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा तत्काल केहि समस्या देखिए पनि विस्तारै अन्त्य हुने बताउनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने पनि बताउनुभयो ।

यसैबीच जिल्लाका सरकारी कार्यालयका कर्मचारीसँग गरिएको छलफलमा उहाँले बजेट कार्यान्वयनमा प्राथमिकता दिन, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन पनि दिनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -