स्वागतम्,
Friday 26th April 2024   |   Switch to English
Times of Nepal

सकारात्मक परिवर्तन

सेयर गर्नुहोस

सकारात्मक परिवर्तन सबैले चाहेको र खोजेको हुन्छ तर बाटो नदेखेपछि मान्छे अल्मलिन्छ । फेरि बाटो फेला पारिहाले पनि व्यवहारिक रुपमा नै सकारात्मक परिवर्तन ल्याउन भने जति सजिलै सोचिन्छ त्यति सजिलो हुन्न । सही दिशा
निर्देशन, दृढ संकल्प र अटुट अभ्यासले मात्र सकारात्मक परिवर्तन हात लाग्न पुग्छ ।

हामी कसलाई, कहिले र केलाई परिवर्तन गर्न चाहन्छौ ? भन्ने विषयमा हामी प्रष्ट हुन जरुरी छ । स्पष्ट रुपमा भन्नु पर्दा हामी हामीलाई परिवर्तन गर्न चाहन्छौ, कहिले भन्दा अहिले नै हामी जहाँ छाँै त्यहीबाट परिवर्तन हुन चाहन्छौँ र हामी
केलाई परिवर्तन गर्न चाहन्छौं भने हामीमा भएका खराबीलाई । हाम्रा खराबीलाई हटाएर असलपनाको स्थापना गर्नु नै सकारात्मक परिवर्तन हो ।

सकारात्मक परिवर्तनका लागि मैले कसलाई कुरे भन्दा मलाई र तपाईले कसलाई आजसम्म कुर्नुभो भन्दा तपाईलाई । स्पष्ट छ – हामी नउठेसम्म र नजागेसम्म केही हुनेवाला छैन । आफ्नो काम आफै गरेर, श्रम गरेर पैसा कमाएर स्वच्छ रुपले बाँच्न नजानेसम्म, हामीले खोजे जस्तो र सोचेजस्तो परिवर्तन आउँदैन किन कि पसिना बगाउन थाले पछि रगत बगाउन बन्द हुन्छ र विशिष्ट समझदारीको विकासले चेतनामा आउने समुन्नत क्रान्ति चेतले सकारात्मक परिवर्तनको बाटोमा हिड्न र हिडाउन सबैलाई उत्प्रेरित गर्दछ । सकारात्मक कर्मको बाटो शान्तिपूर्ण, सृजनात्मक र अग्रगामी हुने गर्दछ । अझ गहिराइमा र उचाईमा पुगेर भन्नुपर्दा मान्छेले आफूलाई चिनेर आफू हिँड्ने बाटो देखेर राम्रोसँग हिँड्नु नै
सकारात्मक परिवर्तन सफल हुनु हो । सकारात्मक परिवर्तनको लागि आन्दोलन भनेर चिच्याउने तर सकारात्मक परिवर्तन नल्याउने अनि विकास नगर्ने दृष्टिविहीन व्यक्तिहरूको आन्दोलन अन्ततः असफलता, असन्तुलनता, वेथिति र विकृतिमा पुगेर टुङ्गिन्छ जुन घातक र दुःखदायी हुन्छ । आन्दोलनले सही दिशा र गन्तव्य पाएन र खोजिएको परिवर्तन भएन भने मान्छे नकारात्मक हुन्छ र उसमा आक्रोश र घृणाको बादल मडारिरहन्छ । फलतः विकास होइन विनाश हात लाग्छ र निराश भएर आकाशतिर हेर्नुपर्ने हुन्छ ।

रत्नाकार डाँकु वाल्मीकि ऋषि बन्नु र राजकुमार सिद्धार्थ गौतम बुद्ध बन्नु आदि सकारात्मक परिवर्तनका ज्वलन्त उदाहरणहरु हुन् । यही सही दिशानिर्देशन र गन्तव्य प्राप्तिले सफलता हात लागेको र खुशी एवम्उ त्साहको बहार आएको हो । त्यसैले आफूले आफूलाई नचिनेसम्म आफू वरिपरि होस् या अन्य ठाउँ, समाज र राष्ट्रका मान्छेहरु जे जे गुण र कारणले विकसित र सकारात्मक बन्न सफल भएका छन् ती गुणहरूलाई आफ्नो वस्तुस्थिति अनुकूल ढालेर आफू सकारात्मक परिवर्तनको बाटोमा हिँड्न सकिन्छ ।

सकारात्मक परिवर्तन आउनु भनेको खराब सोचाइमा असल सोचाइ आउनु, खराब भावनाको ठाउँमा असल भावना आउनु, गलत कामको ठाउँमा असल काममा लाग्नु हो । कर्तव्यच्यूत र जिम्मेवारविहीन हुन छाडेर कर्तव्यवान् र जिम्मेवार बन्नु, भ्रष्ट हुन छोड्नु, मिसावट गरेर सामान बेच्न छोड्नु, झूट बोल्न छोड्नु आदि सकारात्मक परिवर्तनमुखी उपलब्धिहरू हुन ।

सारमा भन्नुपर्दा आफू बसेको ठाउँलाई मस्तिष्क, हृदय र कर्मशील हातखुट्टाले सुन्दर बनाउनु सकारात्मक परिवर्तन हो । कलह युगलाई शान्त युग बनाउनु सकारात्मक परिवर्तन हो । बन्धनबाट मुक्तीमा पुग्नु सकारात्मक परिवर्तन हो । सकारात्मक परिवर्तनले ल्याउने आनन्द कल्पना गरेर र लेखेर नसकिने हुन्छ । अन्ततः सुख, शान्ति र आनन्द प्राप्त गर्नु सकारात्मक परिवर्तनको मिठो फल खानु हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+भुवन अर्याल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -